‘जहाँ गयो त्यही पहिरो, १२ वर्ष अघिको पहिरोले गाउँ छाडे, अहिले पनि ज्यान जोगाउन कै चिन्ता’



दुर्गाप्रसाद शर्मा, पर्वत ।

बाह्र वर्षअघिको पहिरोले बसिरहेको लुलल्या गाउँमा घर भत्किएपछि जलजला गाउपालिका–२ की मनसुवा जिसीका परिवार त्यहाँबाट विस्थापित भएर छिमेकी गाउँ रखलबिसौना पुगेका थिए ।

पर्वतको साविक माँझफाट गाविस र स्थानीयबासीले रखलबिसौनीमा घर बनाएर मनसुवाको ४ जनाको परिवारलाई बसोबासको ब्यवस्था मिलाएका थिए । केही दिनअघि मनसुवा अहिले बस्दै आएको घरछेउमा पहिरो गएपछि अहिले उनिहरु रातको समयमा छिमेकीकहाँ जाने गरेका छन् ।

‘पहिले पनि पहिरोले घर भत्काएर यहाँ आएर बसेको हो’ उहाँले भन्नुभयो ‘यहाँ पनि पहिरो आँगनमै आइपुगेको छ । घर भत्कायो भने कहाँ गएर बस्ने ?’ मनसुवासँगै लुल्याएको पहिरोबाट विस्थापित भएका ताराबहादुर जिसी, सोमबहादुर जिसी लगायत पाँच परिवार रखलबिसौनामा आएर बसेका थिए ।‘लुल्याहको घर बस्न नमिल्ने भएपछि रखलबिसौनामा आफन्तको खाली घरमा बसेका थियौ’ ताराबहादुरले भन्नुभयो ‘यहाँ पनि फेरी पहिरो जान थाल्यो । हामी जहाँ गयो त्यही पहिरो जान्छ । पहिरोले खेदेको खेदैछ।’

माझफाँट गाबिस–रखलबिसौनाको पहिरोबाट १० घर जोखिममा परेका छन । लुल्याहमा यसअघिको पहिरोबाट जोगिएका तीन वटा घर पनि यसपालिको पहिरोले पर्खाल चर्किएर भत्किने अवस्थामा छन् । ‘चारैतिर पहिरोले घेरेको छ’ लुल्यायकी सरस्वती जिसीले भन्नुभयो ‘जमिन धाँजा फाटेर पर्खाल चर्किएको घर कति बेला भत्केर पुर्छ भन्ने डर छ । रातमा निद्रा लाग्दैन’ लुल्यायको शिर र फेदी, दायाँ र बायाँ चारै तिर पहिरो छ । लुल्याहभन्दा माथि पुम्दीखोला सिचाई आयोजनाको नहर छ । नहर माथिको तल्लो ओखरबोटबाट करिब तीन सय मिटर लम्बाई भएको पहिरो सक्रिय छ । पहिरोले जमिन चिराचिरा बनाएपछि दश रोपनी खेत बाँझै छाडेको पूणगाँउका यामबहादुर कार्र्कीले बताउनुभयो ।

उहाँका अनुसार सो क्षेत्रमा २ सय रोपनी भन्दा बढी खेतमा पहिरो गएपछि खेति गर्न छाडिएकोे छ । दुई सय रोपनी भन्दा बढी जमिनमा रहेको सुन्तला बगैचा पहिरोसँगै बग्न थालेको कृषक सोमबहादुर खत्रीले बताउनुभयो । पहिरोले मानव बस्ती जोखिममा पर्नुका साथै सडक, सिचाई, पदमार्ग लगायत सार्वजनिक भौतिक संरचना र खेतियोग्य जमिनमा ठूलो क्षति पुगेको वडा अध्यक्ष गोविन्द खत्रीले बताउनुभयो ।

यही साउन ५ गते कालीगण्डकी र रघुगंगा नदीमा आएको बाढीले रामन्दिरको धर्मशाला र गौशाला बगाउँदा करिब दुई करोड बराबरको भौतिक क्षति गरेको छ । टमिलाखर्क र गौरटेमा २१ घर पहिरोको जोखिममा परेका छन्। चार वटा घरका सामान सुरक्षित ठाउँमा सारेर मानिसहरुलाई अन्यत्र बसोबासको ब्यवस्था मिलाइएको छ ।

भिरालो पाखोमा रहेका भूमिगत पानीका मुहान, साम्मारे(रखलबिसौना(भिमपाइला(पुणर्गाउ हुदै लेकफाट जोड्ने सडकको भल ब्यवस्थापन नभएको र पुम्दीखोला सिचाई आयोजनाको नहरबाट पानी चुहावट हुँदा पहिरोको जोखिम बढेको स्थानीय सबिना खत्रीले बताउनुभयो ।

तल्लो ओखरबोट र लुल्याहमा १९९० सालमा ठूलो पहिरो गएको थियो । सडक निर्माण र विस्तार तथा सिचाईको नहरबाट पानी चुहावट हुन थालेपछि जमिन धाजा फाटेर चिराचिरा परेर रोकिएको पहिरो केही वर्षयता सक्रिय भएको खत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्