हेलचेक्र्याइँले अर्थतन्त्र चौपट हुँदै



भगवती तिमल्सिना, काठमाडौँ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले नेपाल पनि ठूलो चपेटामा परेको छ । यसको मूल कारण सरकाद्वारा सुनुवाइ नभएर हेलचेक्र्याइँ बढी भएको विज्ञ चिकित्सकको ठम्याइ छ ।

बरिष्ठ चिकित्सक डा. मधु घिमिरेले बेलैमा सरकारलाई सचेत गराए पनि सुनुवाइ गरेर कार्यान्वयन गर्नुको सट्टा ढाकछोपमा नै जोड दिएकाले यो परिणाम आएको बताउनुभयोे । उहाँले भन्नुभयो– ‘अहिले पनि सरकारले ढाकछोप गर्ने काम गरिरहेकै छ । गर्ने काम केही भएन ढोल पिट्ने मात्र काम भयो । अब सर्वसाधारणलाई सबैभन्दा ठूलो समस्या पेट भर्ने कि बिरामी हुने ?’

सरकारले पहिला सतर्कता अपनाएर गर्नुपर्ने कुराहरु गरेको भए अहिले अर्थतन्त्र पनि चौपट नहुनेमा उहाँको जोड थियो । सरकारले कोरोना संक्रमणको परिक्षण गर्नुको सट्टा ढाकछोप गरेका कारण संक्रमितको संख्या घट्नेतर्फ जाने आधार नै तय नभएकाले अबका दिनमा अर्थतन्त्र चौपट हुने उहाँको दाबी छ ।

‘सरकारको पद सम्हालेका बिरामी पर्दाको चिन्ता हैन सर्वसाधारण जनता बिरामी हुँदा कतिले आईसीयू, भेन्टिलेटर पाउँछन् ? नेपालमा कति आईसियू र भेन्टिलेटर सरकारले लकडाउन गरेर व्यवस्थापन ग¥यो र ठूलो संख्यामा एकैपटक बिरामी थपिँदा कुन ठाउँमा राख्ने व्यवस्थापन ग¥यो ? अहिले सम्म कुनै लेखाजोखा छैन’, उहाँले भन्नुभयो– ‘सरकारले पिपिई छ त भन्यो अहिले भएको पिपिईले कति दिन टिक्छ ? संक्रमितको संख्या बढ्दै जाँदा सरकारसँग भएको पिपिई बल्कीङ पेपरले मसी सोसे जस्तै गरि सकिन्छ । सरकारले के गर्न खोजेको हो म ५५ बर्ष देखि चिकित्सा पेशा अगाल्दै आएको एउटा चिकित्सक नै अन्योलमा बस्न बाध्य हुनुपरेको छ ।’

सरकारले बिना योजना लकडाउन गर्ने र लकडाउन खोल्ने गर्दा सर्वसाधारण जनता जीवन पेटपाल्नका लागि कहिले गाउँ जाने त कहिले शहर फर्कने गर्दा बढी संक्रमित हुन पुगेका छन् । यो सबै सरकारको लापरवाही र विना योजना बहकाउमा गरिएका निर्णयको प्रतिफल भएको डा. घिमिरको ठम्याइ छ । उहाँ थप्नुहुन्छ– ‘हिजो लकडाउन गरेर सरकारले कोरोना संक्रमित गाउँ गाउँमा पुर्यायो, आज खुकुलो गरेको भन्दै जनतालाई सास्ती दिएर एउटा सवारी साधनमा यात्रा गरेर गन्तब्यमा पुग्न नदिई ठाउँ ठाउँमा झार्ने र भिडभाड गराएर धेरै मानिसलाई एकैपटक संक्रमित बनाउँदै छ ।’

सरकारले नीति बनाएर सवारीसाधन एउटा ठाउँबाट निश्चित ठाउँमा नपुगेसम्म यात्रुलाई झार्न नमिल्ने र झरेपछि पिसिआर परिक्षण गरेर मात्र काममा जाने वातावरण सृजना गरेको भए आज यति धेरै मानिस संक्रमित नहुने तथा ज्यान पनि नजाने उहाँको भनाइ थियो । उहाँले सरकारले जनतालाई ढाकछोप गरेर थप अन्योलमै पार्दै गएको बताउनुभयो ।

डा. घिमिरे जनतालाई आग्रह गर्दै भन्नुहुन्छ– ‘सकेसम्म घरबाट बाहिर ननिस्क, ननिस्की नहुने छ भने राम्रोसँग माक्स लगाउने, एउटा स्यानीटाईजर सधै साथमै राख्ने, कहि कतै छुना साथै हत्तनपत्त स्यानीटाईजरले हात मिचिमिचि सफा गरिहाल्ने, घरपस्ने बित्तिकै साबुन पानीले हात धुनु, कपडा फेर्नु जरुरी छ ।’ कोरोना भाइरस आँखाबाट पनि सर्ने हुनाले एक व्यक्ति र अर्को व्यक्तिको दुरी २ मिटर फरक पार्नैपर्छ । एकअर्कासँग बोल्दा पनि माक्स लगाएर आफुले पालना गर्नुपर्ने सबै कुरा पालना गर्ने र सरकारले पनि अनुगमन गर्ने गरे मात्र केही हदसम्म सुधार हुन्छ ।

प्रतिक्रिया दिनुहोस्