मेयर फोरमलाई जनताको प्रश्न: खै त आइसोलेसन ?



ईश्वरराज ढकाल, काठमाडौं
उपत्यकामा कोरोना संक्रमितलाई राख्ने आइसोलेसन वार्ड नभएको कारण आलोचना खेपेको उपत्यकाका नगरपालिका मेयर फोरम आइसोलेसन र क्वारेन्टाइन बनाउने तयारीमा जुटेको छ ।
मेयर फोरमले चार दिनअघि राजधानीमा आयोजना गरेको बैठकमा उपत्यकामा क्वारेन्टाइन र आइसोलेसन संघीय सरकारले निर्माण गर्नुपर्ने र त्यसको व्यवस्थापन स्थानीय निकायले गर्ने निर्णय गरेको थियो । आइसोलेसन नबनाउने निर्णयको विरोध गरेको फोरमलाई जनताको प्रश्न छ– ‘मेयर साब, खै त आइसोलेसन ?’
देशकै ठूलो काठमाडौं महानगरपालिकामा क्वारेन्टाइन र आइसोलेसन नहुँदा गम्भीर समस्या परेको गुनासो आउन थालेपछि काठमाडौं महानगरपालिका र उपत्यकाका नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन शुरु गरेका हुन् ।
उपत्यकामा कोरोना संक्रमणको कारण अस्पतालहरु भरिभराउ हुन थालेपछि दुई महानगरसहित स्थानीय तह तातेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको दुई स्थानमा आइसोलेसन वार्ड निर्माण गरेको बताउनुभयो ।
उहाँले वागडोलस्थित ज्यापु समाजको भवनमा ५४ र नेपाल युथ फाउन्डेसनको भवनमा ३२ शैय्याको आइसोलेसन निर्माण भएको बताउनुभयो । यसअघि सातदोबाटोस्थित एन्फा खेल मैदानमा स्थापना गरिएको क्वारेन्टाइन खाली गरेपछि दुई स्थानमा तयार गरेको हो ।
तर, देशकै ठूलो र सुविधा सम्पन्न काठमाडौं महानगरपालिकाले आइसोलेसन तयार गर्न सकेको छैन । कामपाका मेयर विद्यासुन्दर शाक्यले संघीय राजधानी भएको काठमाडौमा आइसोलेसन बनाउने काम स्थानीय तहको नभएको जिकिर गर्दै संघले निर्माण गरेको आइसोलेसन र क्वारेन्टाइनलाई स्थानीय तहले व्यवस्थापन गर्ने तर्क राख्दै आउनुभएको थियो । उपत्यकाका केही स्थानीय तहले आइसोलेसन र क्वारेन्टाइन सञ्चालन गरे पनि काठमाडौं महानगरसँग क्वारेन्टाइन छैन ।
कामपाका उपमेयर हरिप्रभा खड्की श्रेष्ठले महानगरको आफ्नो क्वारेन्टाइन र आइसोलेसन नहुँदा सर्वत्र आलोचना खेप्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मेयर फोरमका अध्यक्ष रहनुभएका कामपाका मेयर विद्यासुन्दर शाक्यले अहिले आइसोलेशन र क्वारेन्टाइन बनाउन नपर्ने भन्दै हिँड्नुभएको छ । मेरो भनाइ सोध्नुहुन्छ भने महानगरले बदनाम कमाउनबाट जोगिन तत्काल आइसोलेसन निर्माण शुरु गर्नुपर्छ ।’
महानगरका थुप्रै खाली भवन, विद्यालय र अन्य संरचना खाली रहेको अवस्थामा तत्काल निर्माण गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । उहाँले मेयरले आफूखुसी क्वारेन्टाइन र आइसोलेसन बनाउन हुँदैन भन्नु गलत भएको बताउनुभयो ।
‘मेयर शाक्यले फोरमको बैठक र पत्रकार सम्मेलनमा आइसोलेसन नबनाउने घोषणा गर्नुभएको थियो । आलोचना हँदै गएपछि बनाउने मुडमा देखिनुभएको छ’ –कामपाका एक उच्च अधिकारीले भने । ‘फोरमले आइसोलेसन र क्वारेन्टाइन बनाउन नहुने धारणा राखेपछि हिजो बुधबारबाट सबै स्थानीय तहमा तयारी गर्ने विषयमा छलफल शुरु भइरहेको छ’ –उपमेयर खड्गी श्रेष्ठले भन्नुभयो ।
बाहिरबाट आएका र कोरोना संक्रमण देखिएकालाई राख्न आइसोलेसन र क्वारेन्टाइन बनाउनुको विकल्प नभएको तर्क राख्दै उपमेयर खड्गी श्रेष्ठले भन्नुभयो–‘अब पनि व्यवस्थापन नगरे स्थानीय जनताले हामीमाथि गम्भीर आरोप लगाएर महानगरको विरुद्धमा सडकमा उत्रिनेछन् ।’
मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बाहिरबाट आएका सबैको जिम्मा लिने काम हाम्रो नभएको तर्क राख्दै त्यसका लागि संघीय सरकारले जिम्मा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब थोरै संक्रमित अट्ने होइन, हजार जना बस्न मिल्नेसम्मको आइसोलेसन निर्माण गर्न जरुरी छ, उक्त काम संघीय सरकारले मात्र सक्छ ।’
उहाँले अब बन्ने आइसोलेसनको व्यवस्था पनि स्थानीय तहले गर्ने बताउँदै यो आइसोलेसन सामान्य प्रकृतिको नहुने दाबी गर्नुभयो । ‘एक हजार अटाउने आइसोलेसनको सुरक्षा तीन तहको हुनेछ, त्यसको व्यवस्थापन उपत्यकाका नगरपालिकाले गर्नेछ’ –उहाँको भनाइ थियो ।
पछिल्लो समय आइसोलेसन तयार गर्न नसकेर आलोचना खेपिरहेको अवस्थामा मेयर फोरमको धारणा के छ भन्ने विषयमा उहाँको भनाइ थियो– ‘बाहिरबाट आउने सबैको रेखदेख स्थानीय तहको मात्र होइन, संघीय सरकारले व्यवस्था गर्नुपर्छ ।’
मेयर शाक्य बाहिर जिल्लाबाट आउने क्रम नरोकिएसम्म आइसोलेसन र क्वारेन्टाइन बनाएर कुनै उपलब्धि नहुने तर्क राख्दै आउनुभएको छ । उहाँलगायत १५ जना मेयरले नाका सिल गरी कडाइ नगरेसम्म कोरोना संक्रमणलाई नियन्त्रण गर्न नसक्ने बताएका छन् ।
तर उपत्यका छिरेका र कोरोना संक्रमण देखिएका जनताले तत्काल आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्न दबाब दिन थालेका छन् । अधिकांशले भन्ने गरेका छन् मेयर साब काठमाडौंमा आइसोलेसन खै ?
तर छिमेकी नगरपालिकाले उपत्यकाका मेयर फोरमले गरेको निर्णयले असर पुग्ने बताउँदै नाकामा कडाइ गर्ने भन्दा पनि चेकजाँच गरी उपत्यका भित्र्याउनु उचित रहेको बताउँदै आएका छन् ।
कामपाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले आइसोलेसन तयारी गर्ने विषयमा छलफल भइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘एक दुई दिनमा महानगर र फोरम आबद्ध नगरपालिकाले आ–आफ्नो आइसोलेसन बनाउनेछन् ।’

टोलटोल सिल हुँदै
कोरोनाको कहर समुदायमा फैलन सक्ने आँकलन गर्दै काठमाडौं र ललितपुर महानगरपालिकाले वडा टोलटोल सिल गर्न थालेको छ । सरकारले लकडाउन नगरी कोरोना संक्रमण देखिएका टोल र वडा सिल गर्न निर्देशन दिएपछि काठमाडौ र ललितपुर महानगरपालिकाले संक्रमित देखिएको वडा र टोल सिल गर्न थालेको हो ।
काठमाडौं महानगरका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले हालसम्म २२, २७, २८, १० र ११ वडाका टोल सिल गरिएको जानकारी दिनुभयो । महानगरले कोर क्षेत्रको रुपमा चिनिएका असन, खिचापोखरी, इन्द्रचोकलगायतका विभिन्न टोल सिल गरेको छ । महानगरले हिजोदेखि ठेलागाडाबाट तरकारी व्यापार र फुटपाथलाई पूर्ण रुपमा निषेध गरेको छ ।
महानगरका वडाअध्यक्षले कोरोना संक्रमण भएको स्थानबारे जानकारी दिनेबित्तिकै ती स्थान र टोल सिल गरिने बताएका छन् । ललितपुर महानगरपालिकाले ११ नम्बर वडाका टोल सिल गरेको छ । महानगरले कोर क्षेत्रका पसललाई बिहान ११ बजेपछि बन्द गर्न निर्देशन दिएको छ ।
ललितपुरका मेयर चिरिबाबु महर्जनले वडाका टोलटोल सिल गर्ने, पसल बन्द गर्ने, कोरोना संक्रमितलाई सम्बन्धिन आइसोलेसन सेन्टरमा पु¥याउने जिम्मा वडा कार्यालयहरुलाई दिएको बताउनुभयो ।
दुई महानगरसँगै सबै नगरपालिकाले आफ्नो क्षेत्रका टोलटोलमा सिल गर्ने तयारी गरेको छ । कीर्तिपुर, महालक्ष्मी, मध्यपुर थिमि, चन्द्रागिरीलगायका नगरपालिकाले कोरोना संक्रमण देखिएका टोल सिल गर्ने कामलाई तीव्रता दिएका छन् । अस्ति सोमबारदेखि १६ वटै स्थानीय तहले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्