आफ्नै भवन बनाउदै काठमाडौं महानगरपालिका, ६ तले छुट्टै पार्किङ भवन



ईश्वरराज ढकाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आफ्नै जग्गामा नयाँ भवन बनाउने भएको छ । टेकुस्थित वातावरण व्यवस्थापन विभागमा रहेको करिब ६ रोपनी जग्गामा निर्माण हुन लागेको आठतले भवन दुई वर्षभित्र तयार हुनेछ ।

कार्यालय भवनसंगै करिब ७ रोपनी क्षेत्रफलमा पार्किङ भवन निर्माण गर्न लागेको हो । मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा तयार हुनेगरी भवन निर्माण गर्न लागेको महानगरले जनाएको हो ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा भवनमा कामपाको सबै कार्यालय सर्ने भने पनि घर खाली गराउने विषयमा लफडा भएपछि कामपाले आफ्नै स्वामित्वको जग्गामा भवन बनाउने तयारी गरेको हो ।

कामपा शहरी पुर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाले यो वर्षको मंसिरमा शिलान्यास गर्नेगरी नक्सा निर्माण प्रकृया अघि बढेको जानकारी दिनुभयो । भन्नुभयो– नक्सा निर्माण प्रकृयामा छौ, करिब तीन महिनापछि स्वीकृत गरी निर्माण प्रकृया अघि बढाउनेछौ ।
उहाका अनुसार दुई भवनको लागि करिब १ अर्ब भन्दा बढी बजेट व्यवस्थापन गरीएको छ । त्यसमध्य मुख्य भवन करिब ६० करोड रुपिया लागतमा बन्नेछ । पार्किङ भवन स्टिल स्ट्रक्चर हुनेछ । यस्को लागत करिब ५० करोड हुनेछ ।

टेकुको महानगर प्रहरी बसेको जग्गामा ६ तले पार्किङ भवन बन्नेछ । कामपाले आधुनिक पार्किङ भवन निर्माण गर्ने विषयमा विभिन्न निकायसंग छलफल भैरहेको छ ।

शहरी योजना आयोगले भवनको नक्सा निर्माण गर्न परामर्शदाता नियुक्ति प्रकृया गरीरहेको छ । आयोग सचिवालय प्रमुख रविनमान श्रेष्ठले साउनभित्र मुख्यालय र पार्किङ भवन निर्माण गर्न पराशर्मदाता छनौटको सूचना जारी गर्ने जानकारी दिनुभयो ।

केही महिनाभित्र परामर्शदाता छनौट गरे लगत्तै भवन निर्माणको टेण्डर निकाल्ने छ । उहाँका अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी प्रकृया शुरु भैरहेको छ । शहरी पुर्वाधार विकास विभागका विभागीय प्रमुख थापाले आफ्नै भवन नभएको कारण सेवा दिन समस्या भएपछि नयाँ भवन निर्माण प्रकृया अघि बढाइएको बताउनुभयो ।

महानगरले भवन निर्माण गरेपछि सबै विभाग, महाशखा, शाखा र विभिन्न कार्यालय एउटै भवनमा रहनेछन् । भुकम्पले क्षतिग्रस्त वागदरबार कामपाले नामाकरण गरेको (हरीभवन)मा नयाँ भवन बनाउन खोज्दा पुरातत्व विभागले रोक लगाएपछि सो स्थानमा आफ्नो भवन बनाउने प्रकृयामा पुर्ण विराम लागेको थियो ।

एउटै भवनबाट सेवा दिनेगरी साउन महिनादेखि नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्ने तयारी गरेपनि ठेक्का लिने कम्पनीको बिरोधको कारण सो भवनमा कामका मुख्यालय सर्ने अनिश्चित भएको छ । काठमार्डौ प्लाजाका ठेकेदारले मुद्धा दायर गराएपछि यो वर्ष सर्ने काम रोकिन सक्ने भएपछि तत्काल आफ्नै भवन निर्माण गर्ने विषयमा कुराकानी भैरहेको छ ।

आफ्नो भवन अभावको भएपछि महानगरका विभाग, महाशाखा र शाखा भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको छ । सुन्धारा स्थित जेडिए भवनमा मुख्यालय छ ।

जिल्ला समन्वय समितिको भवनमा कामपाको समाजिक विकास, सम्पदा, विपद् व्यवस्थापन विभाग, सार्वजनिक निजी साझेदारी कार्यालय र स्वाथ्य महाशाखा छन् ।

बबरमहलमा शहरी विकास र राजश्व ,बिजुली बजारमा सहकारी, ताहाचलमा कृषी र शिक्षाका कार्यालय छन् । थापाथलीमा शहरी योजना आयोग सचिवालयको कार्यालय रहेका छन् ।

कोभिड–१९ पछि कामपाका मेयर, उपमेयर, प्रवक्ता, प्रमुख प्रशासकीय अधिकृत (सचिव) र सह सचिव र खरिद इकाइको कार्यालय रहेका छन् । भुकम्पले क्षतिग्रस्त बाग दरबारमा महानगर प्रहरी कार्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्