अबदेखि कक्षा ११ को परीक्षा विद्यालय गर्ने


न्युज अफ नेपाल, काठमाडाैँ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले असार १९ गते कक्षा ११ को परीक्षाको जिम्मा विद्यालयलाई दिने निर्णय गरेको छ । यस वर्षमात्र नभई सधैंका लागि अब विद्यालयले नै कक्षा ११ को परीक्षा सञ्चालन गर्ने छ ।

विद्यालय शिक्षाको अन्तिम कक्षा १२ मा मात्र परीक्षा लिनुपर्दछ भन्ने अवधारणाअनुरुप यो निर्णय भएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले जानकारी दिए ।

परिषद्ले दुई वर्षअघि कक्षा १२ मा मात्र अन्तिम परीक्षा लिने निर्णय गरेको थियो । त्यसलगत्तै पुनः सच्याएर कक्षा ११ मा पनि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरियो । त्यसपछिका दिनमा यो विषय विवाद र चर्चामा आएको थियो ।

पछिल्लो समय कोभिड–१९ का कारण अब कक्षा ११ मा बोर्डले नै राष्ट्रियस्तरमा परीक्षा सञ्चालन गरिरहनुनपर्ने वहस सिर्जना भएको थियो । उनले भने, “कोभिड–१९ का कारण पनि यो निर्णय गर्न सहज बन्यो ।”

केन्द्रका कार्यकारी निर्देशक दाहालले विद्यालय शिक्षा कक्षा १२ सम्म भइसकेपछि केन्द्रीयस्तरमा कक्षा ११ को परीक्षा लिइरहनु जरुरी जरुरी नभएको उल्लेख गरे । उनले भने- “अरु केही मुलुकको अध्ययन गर्दा कक्षा १२ मै लिने गरेको पाइयो । त्यसैले कक्षा १२ बाहेकका परीक्षा विद्यालयस्तरमै हुनुपर्दछ भन्ने निष्कर्ष निकाल्यौँ ।”

कक्षा ११ को अङ्कको गणना कक्षा १२ मा हुने तर विद्यार्थीले कक्षा ११ मा कुन कुन विषय अध्ययन गरे भन्ने बारेमा कक्षा १२ मा प्रदान गरिने प्रमाणपत्रमा कही कतै उल्लेख गरिदिनुपर्दछ भन्ने छलफल भएको छ । निर्णय हुन बाँकी भए पनि यस बारेमा प्रष्ट गरिदिनुपर्दछ भन्ने सबैको सुझाब छ ।

कक्षा ११ को परीक्षाको सञ्चालनका बारेमा गठित एउटा कार्यदलले अध्ययन गरिरहेको छ । त्यस कार्यदलले दिने सुझाव प्रतिवेदनका आधारमा निर्णय हुनेछ ।

कक्षा ११ को आन्तरिक परीक्षा विद्यालयले कसरी सञ्चालन गर्ने र त्यसको मूल्याङ्कन कसरी गर्ने भन्ने बारेमा राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाउने जानकारी दिँदै त्यसको जिम्मा पनि बोर्डलाई दिइसकेको उनले बताए ।

हाल एसईईमा विद्यालयले नै गरेको अन्तिम मूल्याङ्कन जस्तो हुने वा भिन्न हुने भन्ने बारेमा कार्यविधिले प्रष्ट गर्ने उनले बताए।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।