शुक्रवार सिन्धुलीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि



बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका ६ शिवनगर स्थित भू तथा जलाधार कार्यालयमा रहेको क्वारेन्टाइनमा भारतबाट आई बसेका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको हो ।

कमलामाई नगरपालिका वडा नं. ११ का १७ वर्षीय पुरुष र तिनपाटन गाउँपालिका वडा नं. ३ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो ।

उहाँहरु दुवैलाई शुक्रवार विहान क्वारेन्टाईनबाट सिन्धुली अस्पतालको आईसोलेसनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सिन्धुली अस्पतालका कोरोना भाईरस फोकल पर्सन डाक्टर प्रसन्न राज भण्डारीले बताउनुभयो ।

योसँगै सिन्धुलीका ४ जनामा कोरोना पुष्टि भएको छ । थप संक्रमण रोकथामका लागि स्वास्थ्य कार्यालय सिन्धुली, सिन्धुली अस्पताल, वाग्मति प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी तथा पृथकीकरणको काम सुरु गरिसकिएको उहाँको भनाई छ ।

यस अघि बिहीवार सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा रहेका २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

भारतबाट रोजगारी गुमाएर घर फर्किएका उनी आफ्नै वडाको चन्दनपुर मावि क्वारेन्टाइनमा छन् । उहाँमा कोरोनाको कुनै लक्षण देखिएको छैन ।

संक्रमितलाई सिन्धुली अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिने शाहले जानकारी दिए । यसअघि सिन्धुलीको भिमानकी संक्रमित महिला कोरोनालाइ जितेर घर फर्किसकेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्