जुम मिटिङमा पोर्न भिडियो शेयर भएपछि…



नेपाल समाचारपत्र, काठमाडौं ।

वन क्षेत्रमा काम गर्ने महिला प्राविधिकहरूको सञ्जाल ‘महिला वन प्राविधिक सञ्जाल’ ले साप्ताहिकरूपमा जुममार्फत वेविनारको आयोजना गर्दै आइरहेको थियो ।

यस हप्ता ‘वन क्षेत्रमा लैंगिक तथा सामाजिक समावेशीकरण: परिवेश, चुनौती र अवसर विषय’ को वेविनारमा छलफल हुँदै थियो ।
वेविनारमा प्रस्तुत विषयमाथि छलफल चलेको केही क्षणमै एक अपरिचित आईडीबाट अश्लील भिडियो (पोर्न) शेयर भएको वेविनारमा सहभागी एक महिला प्राविधिकले जानकारी दिइन् ।

‘साप्तहिकरूपमा सञ्चालित हुने वेविनारको योपटकको छलफलमा भएको घटनाले हामीलाई दुःखी तुल्याएको छ’, उनले भनिन्– ‘यस्तो कार्यको जति विरोध गरे पनि कम हुन्छ ।’

वेविनारमा विद्यार्थीदेखि अन्तर्राष्ट्रिय लैंगिक विज्ञहरूसमेत सहभागी थिए । पाँच जना पुरुषसहित २ सय ७८ जनाले वेविनारमा सहभागिता जनाएका थिए । त्यस दिन अपरिचित आईडीलाई होस्टले पनि नियन्त्रण गर्न नसक्ने गरी अश्लील भिडियोको सम्प्रेषण भएको ती सहभागीले बताइन् ।

उक्त घटना जेठ ३ गते सांझ ८ बजे भएको पनि ती सहभागीले जानकारी दिइन् ।

‘हामी वेविनारमा छलफलमै थियौं । अपरिचित आईडीबाट एक्कासी पोर्न भिडियो शेयर भयो । होस्टले नियन्त्रण गर्न धेरै प्रयास गरे तर सफल हुन सकेनन् ।’ –उनले भनिन् ।

ती महिला प्राविधिकका अनुसार भिडियोका साथै पुरुषको आवाजमा नेपाली भाषामा बोलेका अश्लील वाक्यांश र महिलालाई गालीसमेत गरिएको थियो ।

यस्तो कार्य महिला वन प्राविधिक सञ्जालको अस्तित्वमाथिको प्रहार मात्र नभई यौनजन्य दुव्र्यवहारका साथै समग्र मानवीय सभ्यताकै उपहास भएको सञ्जालले जनाएको छ ।

‘वेविनारमा गरिएको उक्त हर्कतलाई विकृत मानसिकता भएका व्यक्तिहरूले घृणित, परपीडक मानसिकता बोकेर यस सञ्ञ्जालप्रति आक्रमण गर्न खोजेको रूपमा हामीले बुझेका छौं ।’ –सञ्जालले विज्ञप्ति जारी गर्दै भनेको छ ।

‘एक सभ्य समाजमा यस्ता व्यवहार अमान्य र कानुुनद्वारा दण्डनीय हुन्छन् । उपरोक्त घटनाले हामीलाई थप संगठित, बलियो तथा प्रतिबद्ध बनाएको’ भन्दै सञ्जालले त्यस्तो तुक्ष व्यवहार भत्र्सना गरी खेद प्रकट गरेको छ ।

यसरी प्रविधिको दुरुपयोग गरी त्यस्तो कर्तुत गर्ने घटनाका विरुद्धमा कानुुनी उपचारमा जाने सञ्जालले जानकारी दिएको छ ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. सिन्धु ढुंगानाले यस विषयमा प्रतिक्रिया दिँदै ‘उक्त घटनाले आफूलाई दुःखी बनाएका’ बताउनुभयो । ‘वेविनारमा वास्तवमै हमला भएको थियो । यस्ता कार्यमा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्दछ । कानुुनी प्रक्रियामा जानुपर्दछ ।’ –उहाँले भन्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्