१ करोड ९ लाख अवैध भारुसहित दुई पक्राउ

0
Shares

सरोज यादव, विराटनगर । 

विराटनगर भन्सार कार्यालयबाट एक करोड बढि भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

भारतको सुपौलबाट आएको खाली ट्रकबाट प्रहरीले चेकजाँचका क्रममा मंगलबार एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट १ करोड ९ लाख ७९ हजार ५ सय ३० रुपैयाँ भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान नोट रहेका छन ।

भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा कार्टुनमा राखिएको अवस्थामा रकम बरामद भएको हो । अत्यावश्यक वस्तुको ढुवानको नाममा उक्त ट्रक भारतबाट भित्रिएको ट्रकका चालक र सहचालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ । रकमसँगै भारतको सिलिगढी गंगानगर वडा नं ५ बस्ने २४ वर्षिय चालक रवि कुमार शर्मा र भारत कैमजहपुर विहार रोउति मिया बडा नं १२ बस्ने १८ वर्षिय पप्पु कुमार पक्राउ परेका छन् ।

बरामद रकम कसले भित्र्याएको हो भन्ने अनुसन्धान भइहरेको प्रहरीको भनाइ छ । खाली गाडी भएका कारण भारतीय पक्षले परीक्षण नगरी नेपाल प्रवेशको अनुमति दिएको थियो । नेपालमा भने जाँच गर्दा बोराभित्र राखेको कार्टुनमा गुट्खाको र्र्यापरले बेरेको अवस्थामा रकम बरामद भएको सशस्त्र प्रहरीका एसपी नेत्र कार्कीले जानकारी दिनुभयो । सशस्त्र प्रहरीको टोलीले रकम बरामद गरेको विराटनगर भन्सार प्रमुख शिव भण्डारीले पुष्टी गर्नुभएको छ । सो रकम हुण्डी कारोवारीले ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाका विषयमा थप अनुशनधान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।