साँझपख ‘विरयानी’ बाँड्न थालियो…



न्यूज अफ नेपाल, काठमाडौं

लकडाउन अघिका अरु दिनमा विद्यार्थीको चहल पहल हुने नयाँ बानेश्वरस्थित काव्य स्कुलमा मंगलबारको दृष्य अलग थियो । उक्त स्कुलमा नयाँ बानेश्वर, बुद्धनगर र शंखमुलमा बस्दै आएका विपन्न र ज्यालादारी श्रमिकहरुका लागि बेलुकीको एक छाक शाकाहारी खाना (भेज विरयानी) पकाएर बाँड्ने तरखर भईरहेको थियो । सबैलाई पायक पर्ने ठाउँको रुपमा काव्य स्कुलको जुनियर ब्लकको भान्छाघरमा पकाएर सोही विद्यालयको प्रांगणमा खाने व्यवस्था गरिएको थियो ।

खानेकुरा वितरण गर्न र बसेर खानको लागि विद्यालयको प्रांगणमा संस्थापक निर्देशक रिजन खड्का र प्रेमराज अर्याल दुरी कायम गर्दै गोलो घेरा बनाउने र अन्य स्वयमसेवक कार्य गर्दै थिए । खाना खानको लागि स्थानीय श्रमिक र मजदूरहरु पर्खेर बसेका थिए ।

कोरोना भाइरस कोविड—१९ को कारण मुलुकमा लागु गरिएको ३६ औं दिनको लकडाउनका कारण विपन्न वर्गलाई खानेकुराको अभाव हुँदै गएको अवस्थामा उनीहरुलाई कम्तिमा पनि एक छाक बेलुकीको खानाको व्यवस्था गर्न विद्यालयका कर्मचारी, शिक्षक तथा स्थानीय क्लव र समाजसेवी जुटेका थिए ।

स्थानीय तेस्रो आँखा युवा क्लव र बुद्धनगरको भक्त बिबि हेल्पिंग ह््याण्डस फर ह्युमानिटी संस्थाको आयोजना तथा काठमाडौं महानगरपालिका वडा नं १० र काव्य स्कुलको सहयोगमा मंगलबारदेखि नियमितरुपमा हरेक साँझ एक छाक शाकाहारी खानाको व्यवस्था मिलाईएको काव्य स्कुलका संस्थापक निर्देशक एवम् थर्ड आई युवा क्लवका संस्थापक सल्लाहकार दिलिप थापाले बताए । उनी नेपाल तरुण दल १ नं क्षेत्रका अध्यक्ष पनि हुन् ।

तयार गरिएको खानेकुरा बाँड्न बागमती प्रदेशका सांसद एवम् नेपाली काग्रेसका युवा नेता समाजसेवी दिपेन्द्र श्रेष्ठ तथा महानगरपालिकाको १० नं वडाध्यक्ष रामकुमार केसी लगायत सम्वन्धित संस्थाका पदाधिकारी लामवद्ध भएर उभिएका थिए ।

पहिलो दिन मंगलबार साँझ १ सय २८ जना विपन्न र मजदूरलाई भेज विरयानी वितरण गरिएको सांसद दिपेन्द्र श्रेष्ठले बताएका छन् । आफ्नो क्षेत्रमा अस्थायी रुपमा बस्दै दैनिक ज्यालादारी या श्रमिकको रुपमा काम गर्दै आएका व्यक्तिहरुको कोही पनि भोको नरहुन भनेर लकडाउन नखुलुन्जेलका लागि हरेक साँझ काव्य स्कुलमा साँझको एकछाक खाना वितरण गरिने पनि सांसद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्