शाही सर्वोच्चको आदेशबमोजिम रिहा



नेपाल समाचारपत्र, काठमाडौं ।

अभद्र व्यवहार गरेको आरोपमा प्रक्राउ परेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई सर्वोच्चको आदेशबमोजिम मंगलबार रिहा गरिएको छ ।
न्यायाधीशहरू पुरुषोत्तम भण्डारी र डा. मनोजकुमार शर्माको संयुुक्त इजलासले कानुुनबमोजिम थुनामा राखेको नदेखिएको उल्लेख गर्दै शाहीलाई रिहा गर्न आदेश दिएको हो ।

सर्वोच्चले शाहीलाई पक्राउ गर्दा संक्रामक रोग ऐन–२०२० अनुसार पुुर्जी जारी गरिएको भए पनि म्याद थप गर्दा अभद्र व्यवहारअनुसार कारबाही अघि बढाएको पाइएको उल्लेख गरेको छ ।

शाहीलाई यही वैशाख ९ गते चापागाउँको प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले थापालाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने कारण नदेखिएको सर्वोच्चले उल्लेख गरेको छ ।

कुनै पनि नागरिकले केही कुरामा असहमति जनाउनु र आफ्ना कुरा व्यक्त गर्नु विचारणीय प्रश्न रहेको उल्लेख गर्दै सर्वोच्चले प्रक्रिया पूरा नगरी गरिएको थुनाले कानुुनी मान्यता प्राप्त गर्न नसक्ने स्पष्ट गरेको छ । शाहीलाई आदेशबमोजिम मंगलबार सर्वोच्च लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्