लकडाउनको समयमा पनि घरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिईंदै



विमल विष्ट, डोटी ।

डोटी जिल्लाको जोरायल गाउँपालिकाका जनप्रतिनीधिले घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको थालेको छ । गाउँपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित र बालपोषण भत्ता घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण जेष्ठ नागरिकलाइ समस्या भएको भन्ने खबर आएपछि गाउँपालिकाले घरैमा गएर सामाजिक सुरक्षा भत्ता बितरणको कार्य सुरु गरीएको जोरायल गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत तेजु खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो- “गाउँपालिका र वडा कार्यालयमा आउन नसकेर जेष्ठ नागरिकलाइ समस्या भएको जानकारी आयो अनिहामीले घरैमा भत्ता दिन थालेका छौँ ।”
जोरायल गाउँपालिकाका भरीमा रहेका कम्तीमापनि एक हजार भन्दाबढी नागरिकलाई घरमै पुगेर भत्ता वितरण गर्ने योजना अनुसार उक्त अभियान सुरु भएको हो । त्यसैगरी जेष्ठ नागरिकलाइ भत्ता संगै सामाजिक दूरी कायम गरेर स्यानिटाइजर, मास्क, पञ्जालगायतका सामग्री वितरण गरिन थालिएको जोरायल गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो ।

गाउँपालिकामा रहेका ६ वडामा जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर जेष्ठ नागरिक भत्ता वितरण कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो- “हामीले आफ्ना सबै वडामा जनप्रतिनिधी ततथा कर्मचारी परिचालन गरेर जेष्ठ नागरिक भत्ता सहित अन्य सामग्री बितरण गर्दै आएकाछौँ, जस्ले गर्दा सबै नागरिकलाइ सहज भएको छ ।”

जनप्रतिनिधी तथा कर्मचारी आएर घरमै भत्ता दिँदा आफुहरुलाइ निकै राहत मिलेको घरैमा जेष्ठ नागरिक भत्ता पाउनु भएकी जोरायल गाउँपालिका वडा नं ५ की ६७ वर्षीया सञ्जा रावलले बताउनुभयो । उहाँले भन्नुभयो- “बन्दले भत्ता लिन जान नसक्दा समस्या भएको थियो, गाउँपालिकाले घरैमा पैसा दिएपछि निकै राहत मिलेको छ ।”

यतिमात्र नभइ उक्त गाउँपालिकाले गाउँमा रहेका दीर्घरोगी र नियमित औषधि सेवन गरिरहेका नागरिकलाई पनि घरैमा पुगेर निःशुल्क औषधि उपलब्ध गराउन भालेको छ । मुटु, दम, रक्तचाप, थाइराइड र युरिक एसिडका बिरामीलाई सोही अनुसारका औषधि तथा सुत्केरी र गर्भवती महिलालाई आइरन चक्की वितरण गरिन थालिएको गाउँपालिका स्वास्थ्य प्रमुख गोविन्द विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो- “स्वास्थ्य चौकीमा आएर औषधी लिन नसक्ने अवस्थामा रहेका नागरिकलाइ हामीले सहज होस भने स्वास्थ्यकर्मी परिचालन गरी घरैमा औषधीको व्यवस्था मिलाएका छौँ ।”

गाउँपालिकाको निर्देशनमा वडा भरीमा रहेका स्वास्थ्यकर्मीहरु लाइ गाउँ गाउँमा खटाएर गाउँपालिकाका गाउँमा भएका जेष्ठ नागरिक र गर्भवती महिलाको अवस्था, बच्चाको अवस्था, श्वास–प्रश्वास, मुटुको गति, लगायत अन्य स्वास्थ्यको अवस्था, सरिरको अवस्था लगायत गर्भवती र बच्चाको शारीरिक अवस्थाका विषयमा पूर्वजानकारी लिन गाउँपालिकाले एक थान पोर्टेबल भिडियो एक्स–रे मेशिन सहित अन्य उपकरण र औषधीको व्यवस्था गरेको छ ।

स्वास्थ्यकर्मीको टोलीले अहिले गाउँ गाउँमा गएर जेष्ठ नागरिकको अवस्था र गर्भवती महिला तथा गर्भमा रहेको बच्चाको स्वास्थ्य जाँच गर्न थालेको जोरायल गाउँपालिका स्थित सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका अनमी तुलसीकुमारी बोहराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्