भक्तपुरमा विदेशबाट फर्किने नेपालीको संख्या एक सय ६५ पुग्यो



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा विदेशबाट फर्किएका नेपालीहरुको लगत संकलन गर्ने तथ्यांक राख्ने कार्य चार वटै स्थानिय तहले गरिरहेका छन । भक्तपुर जिल्लामा विदेशबाट फर्किएको एक सय ६५ जनाले आ–आफ्नो नगरपालिकामा जानकारी गराएका छन् ।

बिदेशबाट घर फर्किनेमा सबैभन्दा बढी सुर्यबिनायक नगरपालिकामा ७१ जना छन । त्यस्तै मध्यपुर थिमीमा ४० र चाँगुनारायणमा ४० जना र भक्तपुर नगरपालिकामा १४ जनाको लगत संकलन गरिएको सम्बन्धित नगरप्रमुखहरुले जानकारी दिएका छन् ।उनीहरु भारत, जापान, दुबई, मलेसिला, फ्रान्स, बंगलादेश, साइप्रस, इन्डोनेसिया, अस्ट्रेलिया कतार लगायतका मुलुकबाट नेपाल फर्किएका हुन ।

विदेशबाट फर्किएकाहरु अहिले होम क्वारेन्टाइनमा बसिरहेका छन । विदेशबाट फर्किएकाहरुमा कोरोना भाइरसको लक्षण देखा नपरेको नगर प्रमुखहरुको भनाई छ ।मध्यपुर थिमी नगरपालिकाले भने पाँच जनाको कोरोना भाइरसको परिक्षण गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुको परिक्षण रिर्पोट केहि दिनमा आउने उहाँको भनाई छ ।

लगत संकलन गर्नेक्रममा मध्यपुरथिमि नगरपालिकाले भने विदेशबाट फर्किएकाको स्वास्थ्यकर्मी सहित घरघरमा पुगेर ट्राभल हिस्ट्री लिनुको साथै उनीहरुको स्वास्थ्य परीक्षण गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले वडागत रुपमा विदेशबाट फर्किएकाको लगत लिने, स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य परामर्श दिने, शंकास्पद देखिए स्वाब सकलन गर्ने, होम क्वारेन्टाइनमा राख्ने गरेको जानकारी दिनुभयो

अझै पनि लगत संकलन गर्ने कार्य जारी रहेको उहाँको भनाई छ ।सूर्यविनायकमा दुईसाता यता अमेरिका, अस्ट्रेलिया, जापान, फ्रान्स, मेलेसिया, दुबई, कतार, कुबेत, भारत, बंगलादेश, कोरिया, पोल्याण्ड, साईप्रस, इण्डोनेसिया, मकाऊबाट फर्किएका २१ महिला, ५० पुरुष सहित ७१ जनाको वडागत लगत संकलन गरी घर भित्रै क्वारेन्टाइनमा राखेर स्वास्थ्य परामर्श गराईएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो । उहाँले विदेशबाट आएकालाई कम्तीमा १४ दिन घर भित्रै बस्न भनिएको र अटेर गरे नगरपालिकाको क्वारेन्टाइनमा लगेर राख्ने बताउनुभयो ।

त्यसैगरि चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सेनाले जनप्रतिनिधी मार्फत विदेशबाट फर्किएकाको पहिचान गर्दै मोवाइल एप्स तथा डिजिटल फाराम भराएको र सो क्रमजारी रहेको जानकारी दिनुभयो ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले विदेशबाट फर्किएकाहरुको स्थानीय तहमार्फत लगत संकलन गर्ने क्रम जारी रहेको बताउदै उनीहरु सबैलाई होम क्वारेन्टाइनमा स्वास्थ्य एवं सुरक्षा निगरानीमा राखिएको जानकारी दिनुभयो । विदेशबाट नेपाल फर्किएकाहरुमा कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण पुष्टि हुन थालेपछि भक्तपुरमा चारैवटा स्थानीय तह र सुरक्षा निकायले लगत संकलन एवं निगरानी बढाएको हो ।

यसैबीच विदेशबाट आएकाहरुको भक्तपुुर अस्पताल मार्फत धमाधम स्वाब परीक्षण गर्न सुरु भएको छ । भक्तपुर अस्पतालकी सुपरिटेण्डन डा. सुमित्रा गौतमले आज दिउँसोसम्म १९ जनाको स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको र ११ जनाको रिपोर्ट कोरोना नेगेटिभ आएको र आठ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्