पर्वतको फलामखानी उत्खनन प्रक्रिया शुरू

0
Shares

नेपाल समाचारपत्र, पर्वत।

झन्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशिला गाउँपालिका–६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी उत्खनन प्रक्रिया शुरू भएको छ।खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौं आफैंले खानीको उत्खनन गर्न प्रक्रिया शुरू गरेको हो।

विभागले चालू आर्थिक वर्षमा फलामखानीको विस्तृत सर्वेक्षण गर्न थालेको छ। त्यसका लागि विभागका सिनियर भूगर्भविद् ठाकुर कँडेल, भूर्गभविद् प्रकाश पोखे्रलसहितको टोलीले एक सातादेखि अध्ययन गरिरहेको छ।

टोलीले सम्भावित ठाउँमा फलामको मात्रा र गुणस्तर के कति छ भनेर अध्ययन गरिरहेको भूगर्भविद् पोखरलेले जानकारी दिनुभयो। उहाँका अनुसार इआरटी (इलेक्ट्रिकल रेसिस्टिभिटी टेक्नोलोजी) को माध्यमबाट अध्ययन अनुसन्धानकोे काम भइरहेको छ।

अहिले हेर्दा कुनै ठाउँको सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको छ।२ देखि ८ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ। टोलीले नमुना संकलन पनि गरिरहेको पोखरेले बताउनुभयो। उहाँले भन्नुभयो– ‘यहाँको क्वान्टिटी र क्वालिटीको बारेमा विस्तृत अध्ययनको रिपोर्टपछि अगाडिको काम शुरू हुन्छ।’

उहाँका अनुसार अध्ययनकै क्रममा रहेकाले विस्तृत विवरण आइसकेको छैन। विभागको मान्यता अनुसारको रिपोर्ट आएमा फलामखानी उत्खनन प्रक्रिया शुरू हुन्छ। ‘यस वर्ष डिटेल सर्वे गर्छौं, सबै रिपोर्टहरू पोजेटिभ आएमा अर्को आर्थिक वर्षदेखि उत्खननको काम शुरू हुन्छ’ पोखरेलले भन्नुभयो– ‘नेपाल सरकारले बन्द रहेका फलामखानीको उत्खननमा तदारुकता देखाएसँगै कँडेल नेतृत्वको टोलीले सम्भावित क्षेत्रहरूम अध्ययनलाई तीव्र्रता दिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिनुभयो।

धुँवाकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच २०६७ पुस ८ मा सम्झौता पनि भएको थियो। तर, उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागले नै काम शुरू गरेको पोखरेलले बताउनुभयो।

उक्त फलामखानी सदरमुकाम कुश्मा बजारबाट झन्डै ४० किलोमिटरको दूरीमा रहेको छ। महाशिलाको लुंखु र फलामखानी क्षेत्रमा फैलिएको उक्त खानीको विस्तृत सर्वेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयवासीले माग गर्दै आएका थिए।

पछिल्लो समय महाशिला गाउँपालिकाले पनि खानी सञ्चालनका लागि चासो देखाएको थियो। ७० वर्षअघि यहाँ स्थानीयले फलाम उत्खनन गर्दै आएका थिए। यहाँको फलाम अन्यत्र जस्तो प्रशोधन गर्नुपर्ने नभएको पाका पुस्ताको भनाइ छ। खानीबाट निकालेको फलाम सिधै तताएर आवश्यक सामग्री बनाउन सकिन्छ।
उतिबेला यहाँको फलामबाट बनेका घरेलु हतियार बागलुङ, पाल्पा र स्याङ्जाका विभिन्न गाउँहरूमा बिक्री हुन्थ्यो। आधुनिक मेसिन र सडकको यात्रा नहुने भएकाले पर्वत आसपासका खोलाहरूमा निर्माण भएका पुलहरूमा समेत यहीँको फलामबाट बनेका लठ्ठाको प्रयोग गरिएको थियो।

मोदीवेणी र जैमिनीघाटका पुलमा अझै पनि फलामखानीको फलामले बनेका लठ्ठाका पुल देख्न सकिन्छ। यहीँको फलाम निकालेर बिक्री गरेर अहिलेभन्दा पाँच दशकअघिसम्म फलामखानीका करिब चार सय परिवारको रोजीरोटी चलेको थियो।

गाउँभरि फलामको खानी भएकैले उतिबेला यो गाउँको नामै फलामखानी राखिएको वडाध्यक्ष सुनारले बताउनुभयो। फलामखानीमा बसोबास गर्ने विक र दर्जी परिवारबाट कम्तीमा एकजना उतिबेला फलामको खानीमै बास बस्ने गर्दथे।

स्थानीय अगुवा गोविन्दबहादुर विश्वकर्माका अनुसार तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० को दशकमा केन्द्र सरकार र विभिन्न खानी तथा भूगर्भशास्त्रीहरूसँग यहाँको खानी उत्खनन गर्न विभिन्न प्रयासहरू गरेको भए पनि सम्भव भएको थिएन।