एमसीसी अध्ययन गर्न बनेको कार्यदलको पहिलो बैठक सम्पन्न



न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा संयोजक झलनाथ खनाल र सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीको उपस्थिति रहेको थियो ।

एमसएसीबारे अध्ययन गरेर मात्रै यसलाई संसदले पारित गर्नु पर्ने नेकपाको केन्द्रीय समिति बैठकमा निर्णय गरिएको थियो । उक्त बैठकमा झलनाथ खनालको नेतृत्वमा आइतबार तीन सदस्यीय अध्ययन कार्यदल बनाएर एमसीसी सम्बन्धी थप अनुसन्धान गर्न भनिएको थियो । कार्यदलको घोषणा भएको भोलिपल्टै सोमबार पहिलो बैठक बसेको बताइएको छ ।

बैठकले एमसीसी सम्झौतासम्बन्धी अध्यायन र समाग्रिहरुका विषयमा छलफल गरिएको स्रोत बताउँछ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तरगत नेपालले विद्युत र सडकमा ५५ अर्ब रुपैयाँ बराबरको सहयोग प्राप्त गर्ने गरी भएको सम्झौतालाई लिएर नेकपाभित्र विवाद छ । यही विवादका कारण मन्त्रिपरिषदले पारित गरिसकेको एमसीसी संसदमा पेश हुन सकेको छैन ।

अब नेता खनाल नेतृत्वको समितिले १० दिनभित्र यससम्बन्धी पार्टीलाई प्रतिवेदन बुझाउने र त्यसपछि बल्ल प्रक्रिया अघि बढ्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्