संसदमा बाबुरामको प्रश्नः आमा ठुलो कि बच्चा ?



न्युज अफ नेपाल, काठमाडौं।

प्रतिनिधिसभा सांसद तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सभामुखको मर्यादाक्रम तल पारिएको भन्दै प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा जनताको नीति निर्माणको उच्चतम थलो भएपनि कार्यकारी प्रधानमन्त्री मात्रै नभइ कार्यपालिकाले बनाएको नीति निर्माणको व्याख्या गर्ने थलोका प्रमुखको समेत मर्यादाक्रम सभामुखको भन्दा माथि राखिएको भन्दै असन्तुष्टि जनाए ।

‘मर्यादाक्रममा राज्यको प्रमुख राष्ट्रपति र उपराष्ट्रपतिमाथि हुनुै पर्यो । त्यसपछिको मर्यादाक्रममा हुनुपर्ने जनप्रतिनिसभाको सभामुख हो’ मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले भने, ‘सबै नीतिहरुको लोकतान्त्रिक अभ्यासको थलो प्रतनिधिसभा हो । तर दुर्भाग्यबस हामीले अर्काको नक्कल गरेर अरुलाई माथि राख्यौँ ।’

न्यायपालिकाका प्रमुख प्रधानन्यायाधीशको समेत बरियता माथि राखिनु अशोभनीय भएको भन्दै उनले भने, ‘कार्यकारीणी व्यवस्थापिकाबाट जन्माउने भएकाले आमा ठूलो कि बच्चा ठूलो ? त्यतिमात्र होइन हामीले जानेर नजानेर न्यापालिकाका प्रमुखलाई समेत व्यवस्थापिका भन्दा माथि राख्यौँ । यसबाट सायद हामीले लोकतन्त्रका गरिमालाई अवमूल्य गरिराखेका छौँ । यो विषयमा ध्यान पुगोस् ।’ यो विषय सामान्य लागेपनि सांकेतिक रुपमा निकै महत्वपूर्ण रहेको पनि बताए ।

सभामुख पदमा चयन भएकोमा अग्नि सापकोटालाई समाजवादी पार्टी र आफ्नो तर्फबाट बधाइ तथा शुभकामना व्यक्त गर्दै भट्टराईले संसदीय गरिमालाई उच्च राख्न पनि सुझाए ।

‘सदन विश्वमा लोकतान्त्रिक अभ्यासको सबैभन्दा उन्नत धरातलमा उभिएर गठन भएको हुनाले यसका क्रियाकलाप र गतिविधिहरु अलि विशिष्ठ प्रतिकृतिका होउन्, र त्यो गराउनका लागि यस सदनको नेताको नाताले यहाँको भूमिका महत्त्वपूर्ण हन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्