तीन वर्षभित्र सपाङ्ग शिशुको मात्रै जन्म हुने गरी प्रदेशलाई स्थापित गर्छाैँः मुख्यमन्त्री राई



सरोज यादव, विराटनगर ।

प्रदेश १ मा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको शुभारम्भ गरिएको छ । प्रदेश सरकार, स्थानीय सरकार तथा करुणा फाउन्डेसन नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रमको सोमबार सामाजिक विकास मन्त्रालयले विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गर्नुभयो । जन्मजात तथा जन्मपश्चात विकास हुने अपाङ्गता रोकथाम गर्ने तथा समुदायमा आधारित पुनस्र्थापनामार्फत अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवन गुणस्तरमा सुधार ल्याउने लक्ष्य कार्यक्रमले लिएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस कार्यक्रम लामो छलफल र लामो तयारी पछि प्रदेश सरकारले ल्याएको बताउनुभयो । उहाँले कार्यक्रमले समाजमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै प्रदेशका सबैपालिकाहरुको प्रतिबद्धता रहेकोले सफल रुपमा कार्यान्वयन हुने बताउनुभयो । त्यस्तै सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस वर्ष २६ स्थानीय तहमा यो अभियान लाने जानकारी दिँदै अपाङ्गता भएकाहरुको पुर्नस्थापनाका साथै तीन वर्षभित्र अपाङ्ता भएका शिशुको जन्म नै नहुने गरी प्रदेशलाई स्थापित गर्ने योजना रहेको बताउनुभयो ।

करुणा फाउण्डेसनका अध्यक्ष डाक्टर भगवान कोइरालाले यस कार्यक्रमले राज्य सन्चालनको संयन्त्रहरुको क्षमता बृद्धिका साथै प्रदेशको आधा जनसंख्यालाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सकारात्मक प्रभाव पार्ने र यो आफैँमा महत्वपूर्ण हुने बताउनुभयो । अभियान सञ्चालनका लागि प्रथम चरणमा मोरङ्ग, सुनसरी, धनकुटा र पाँचथर जिल्लाका २६ वटा स्थानीय तहहरुसँग ३ बर्षे सम्झौता सम्पन्न भईसकेको छ । यस अभियानले बिशेष गरि गर्भवती महिला, नवदम्पत्ति र १० बर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गर्दै प्रदेशमा रहेका १ लाख अपाङ्गता भएका व्यक्तिसमक्ष पुर्याउने लक्ष्य लिईएको छ ।

सबै पालिकाहरुमा कार्यक्रम सञ्चालन गर्न अनुमानित एक अर्ब ८६ करोड ६ लाख २४ हजार ३६० रुपैँया लाग्ने अनुमान गरिएको छ । कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालयले विभिन्न जिल्लाका १६ जना बालबालिकाहरुलाई पेडियाट्रिक ह्विलचेयर वितरण गरेको छ । कार्यक्रममा साहित्य क्षेत्रमा योगदान पुर्याएबापत मदन पुरस्कार विजेता झमक घिमिरेलाई सम्मान गर्नुका साथै ह्रवीलचेयरमा विश्वयात्रा गर्ने ओखलढुङ्गाका तेजबहादुर कार्कीलाई अभियानको सफलता लागी शुभकामना स्वरुप नगद रु. ५१ हजार समेत प्रदान गरिएको थियो ।

उहाँलाई प्रदेश सरकारले थप १ लाख नगद सहयोग गर्ने मुख्यमन्त्री राईले उद्घोष पनि गर्नुभयो । अपाङ्गता भएका व्यक्तिहरुका लागी प्रेरणाको श्रोत बन्न सफल युवा कलाकार अमिर लामाले समारोहमा आफ्नो चित्रकला र गायनको प्रस्तुतीकरण समेत गर्नुभएको थियो । शुभारम्भ समारोहमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, राष्ट्रिय अपाङ्ग महासंघका र विभिन्न संघसंस्थाका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो । उपस्थित व्यक्तित्वहरुले प्रदेशका सम्पुर्ण सार्वजनिक भौतिक संरचनालाई अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त बनाउने प्रतिवद्धतामा हस्ताक्षर पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्