कांग्रेस अप्ठ्यारो अवस्थामा पुग्योः डा. शेखर कोइराला



सरोज यादव, विराटनगर ।

नेपाली कांगेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश १ का जनप्रतिनिधिसंग कोइराला निवास विराटनगरमा छलफल गर्नुभएको छ । प्रदेश १ का विभिन्न स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुसंग निवासमा समसामयिक राजनीतिको विषयमा छलफल गर्नुभएको हो ।

छलफलमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु सहभागी थिए । त्यस अवसरमा कोइरालाले कांग्रेस अहिले जत्ति अफ्ठेरो अवस्थामा कहिल्यै नपुगेको बताउँदै भन्नुभयो,‘हामी विपक्षी भएदेखि नै विभिन्न ढंगले प्रहार भईरहेको छ । योसंग जुध्नको लागि पनि पार्टी एकढिक्का हुन जरुरी छ ।’

कोइरालाले सरकारको गतिविधि अधिनायवादतर्फ उन्मुख रहेको र यसले जनताका अधिकारलाई कुण्ठित बनाउने षडयन्त्र गरिरहेको बताउनुभयो ।प्रमुख उपप्रमुखहरु कांग्रेसको टिकट पाएर विजयी भएको र अहिलेको समस्यालाई पार लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । भन्नुभयो,‘तपाइँहरुले गरेको कामले सिंगो पार्टी र जनतामाझ पनि सन्देश जान्छ ।’

उनले निश्पक्ष र विकासमा ध्यान दिएर जनमुखी काम गर्न प्रमुख उपप्रमुखहलाई सुझाव दिनुभयो । छलफलमा भेला भएका प्रमुखहरुले पार्टीमा देखिएका समस्यालाई शीर्घ समाधान गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले कांग्रेस विजयी भएका पालिकाहरुमा समेत काम गर्न कठिनाइ भएको दृष्टान्त प्रस्तुत गरेका थिए ।

निवासमा गरिएको छलफलमा प्रदेश १ मा विजयी भएका पहाडी तथा मधेशका विभिन्न तहका प्रमुखहरुको सहभागिता थियो । प्रदेश समन्वय परिषदको बैठकमा सहभागी हुन आएका प्रमुख उपप्रमुखहरुलाई कोइराला निवासमा निमन्त्रणा गरी समसामयिक विषयमा छलफल गर्न र एक आपसका विषयलाई अन्तरसंवाद गरिएको कोइरालाले बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छलफलले आफूहरुबीचका अनुभव आदान प्रदान गर्न समेत मद्धत मिलेको बताउनुभयो । छलफलमा प्रदेश १ मा राष्ट्रिय सभामा कांग्रेसमा उमेदवार पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्