विवाहमा भएको परिवर्तन



विवाहदुई निर्दोष आत्माहरूको संगम हो। विवाहलाई एउटा सम्झौताका रूपमा लिइन्छ। एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ। परम्परागत विवाहलाई नेपाली समाजले मागी विवाह, भागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम विवाह आदि नाम दिने गरेको पाइन्छ।

परम्परागतरूपमा मागी विवाहको सर्वव्यापकता थियो। कतिपय जातजातिहरूमा चोरी विवाह र मागी विवाह पनि प्रचलित थिए। हाल सबै शिक्षित समाजमा प्रेम विवाह फस्टाउँदै गएको पाइन्छ। मुख्यत नेपाली समाजमा अझै पनि विवाह भनेको परिवार वा आफन्तको रोजाइ र खोजाइमै भन्ने मान्यता यथावत् नै छ।

विवाहमा मगनीपछि टीकोटालो गरिन्छ। बिहे पक्का गरेपछि केटाका पक्षबाट केटीका घरमा पत्र लाने काम गरिन्छ। केटीका घरमा पुग्न लाग्दा जन्तीको संख्या आदिको पूर्वसूचना गर्न जन्तीका तर्फबाट परम्परागतरूपमा भनिने सगुन पठाइन्छ। केटी पक्षका घरगाउँलेले सगुनलाई जिस्क्याउने अनेक तरिका अपनाउने पुरानो चलनमा आजकाल विधि पुर्याउने कार्यका रूपमा यसमा सुधार आएको छ।

केटाका घरबाट बेहुलो अन्माएपछि त्यो रात केटाका घरमा गाउँले महिलाहरू जम्मा भएर रत्यौली खेल्ने गर्छन्। रातमा खेलिने र रतिरागात्मक गीत गाइने हुँदा यस्तो रामरमाइलोलाई रत्यौली भन्ने गरिएको हो।

योसँगै पहिले बिहेमा कसारभित्र पैसा राख्ने, दहीमा नून, अचारमा चिनी हालेर खान दिने, ओछ्याउन दिएको राडी, गलैँचामुनि तोरीका दाना, मकैका खोया, अमला आदि राख्ने, केराका गानाको हुक्का बनाएर राखिदिने गरिन्थ्यो।

बिहे भनेको सुनौलो पिँजडा हो, जहाँ पस्न नपाएकाहरू कति बेला ढोका खुल्ला र पसौंला भनेर कुर्छन् भने पसेकाहरू कतिखेर खुल्ला र निस्कौंला भनी उचित समयको पर्खाइमा हुन्छन्।आजकल प्रेमसम्बन्ध पनि भावनात्मकरूपले भन्दा आर्थिक हैसियतलाई नै केन्द्रविन्दु मानेर स्थापित गर्ने विकृति आएको पाइन्छ।

प्रेम पनि गरिबसँग गर्ने किधनीसँग भनेर वर्ग विभाजित भएको छ। त्यसैले नियत नै खोटो राखेर रचिएको त्यस्तो उद्देश्यपूर्ण प्रेम विवाह पनि सुरक्षित हुन्छ भन्न सकिन्न। मागी विवाह पनि यदि आर्थिक हैसियतमात्र हेरेर स्थापित गरिन्छ भने यसले भविष्यमा संकट निम्त्याउने खतरा उत्तिकै हुन्छ। मुख्यतः विवाहको लागि हेर्नुपर्ने भनेकै केटा र केटीको व्यक्तिगत योग्यता हो।

अझै पनि केटीलाई विवाह गरेर पठाउँदा ‘मारे पाप पाले पुण्य’ भनेर जिम्मा लाउने गरिन्छ। यो पशुवत् व्यवहार हो। केटी र केटी पक्षले पनि केटाले पाल्न सक्नुपर्छ र सुखसयलको जिन्दगी दिन सक्नुपर्छ भनेर शुरूमै ग्यारेन्टी खोज्ने हो भने यो सम्बन्ध नभएर लेनदेनकै रूपमा पछिसम्म रहनेछ।

यसको साटो केटाकेटी दुवैले हामी पाल्न र पालिन हैन आपसी सुख–दुःख आदानप्रदान र जिम्मेवारी बहन गरी जीवनको रथ अघि बढाउन राजी भएका हाँै भनी प्रतिबद्ध, भए स्वस्थकर हुनेछ।

मुख्यत विवाहका कार्यहरू भनेको यौनसन्तुष्टि प्राप्त गर्नु, नाता–सम्बन्ध र परिवारको विकास गर्नु, सामाजिकीकरणलाई अघि बढाउनु, परम्परालाई पुस्ता हस्तान्तरण गर्नु, पूर्णताको अनुभूत गर्नु, जन्मेका बच्चालाई सामाजिक वैधता प्रदान गर्नु, सामाजिक एकता कायम गर्नु, सामाजिकरूपमा महिला र पुरुषको कार्य विभाजन गर्नु, एक्लोपनलाई रचनात्मक काममा लगाउन मनोवैज्ञानिक बल दिनु, सामाजिक सम्बन्धको दायरा फराकिलो पार्नु आदि हो।

गोत्र भनेको वंश र कुल हो। नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ। हिन्दू धर्ममा एकै परिवारका मानिसलाई विवाहको अनुमति छैन। उनीहरूका बीच विवाह हुनु हाडनाता करणी हो, भनिएको छ।

एउटै कुल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दोष र दम्पतीको सन्तान गुणी र प्रभावशाली नहुने पनि भनिएको छ। धर्मका अनुसार मानिसले तीन गोत्र (आफ्नै गोत्र, आमाको गोत्र र हजुरआमाको गोत्र) छोडेर विवाह गर्नुपर्छ।

विवाह गर्दा पाँच वर्षभन्दा बढी अन्तर राख्नु उचित हुँदैन। एउटै उमेर समूहमा भावनात्मक सम्बन्ध तथा सोचविचार मिल्ने भएकाले लामो अन्तर कायम नगर्नु राम्रो हुन्छ। उमेरको अन्तर धेरै राखेमा यौनजीवनमा बाधा पर्नुका साथै भावनात्मक फाटो आउन सक्छ।
– पुष्कर घिमिरे, गुल्मी।

 

प्रतिक्रिया दिनुहोस्