मध्यपूर्वको तनाव नेपालमा पाँच नोक्सान


परिवर्तन देवकोटा, काठमाडौं।
मध्यपूर्वी मुलुक इरान र अमेरिकामा जारी तनावका कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरूले जनाएका छन्। विगत केही दिनदेखि देखिएको तनावका कारण विश्व अर्थतन्त्रमा असर परिरहँदा नेपालमा त्यसको धेरै नै नकारात्मक प्रभाव पर्ने उनीहरूले चिन्ता जाहेर गरेका हुन्।
उक्त तनावले खाडी मुलुकमा कार्यरत नेपाली कामदारहरू जोखिममा रहेकाले मानसिक तनाव बढेर नेपाल फर्कन सक्ने हुँदा विप्रेषण आप्रवाहमा अधिक गिरावटको सम्भावना रहेको विज्ञहरूको विश्लेषण छ।नेपालबाट रोजगारीका लागि खाडी मुलुकमा जाने कामदारहरूको संख्या  अधिक नै रहेको र त्यहाँ तनाव बढ्दा नेपाली कामदारहरू आतंकित भई नेपाल फर्कंदा रेमिट्यान्स घट्ने विज्ञहरू तर्क गर्छन्।

अर्थविद् प्राडा चन्द्रमणि अधिकारी उक्त तनावको सबैभन्दा ठूलो प्रभाव विप्रेषणमा नै पर्ने बताउँदै भन्नुभयो– ‘मानवीय दृष्टिकोणले पनि नेपाली जनशक्तिलाई स्वदेश फर्काउनुपर्ने हुन्छ।यसको उचित प्रबन्ध मिलाउँदा खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ।’उनीहरू नेपाल फर्किसकेपछि खाडी मुलुकबाट अधिक मात्रामा भित्रने रेमिट्यान्समा कमी हुने उहाँको भनाइ छ।

विप्रेषण आप्रवाहमा असर परेपछि वैदेशिक मुद्रामा चाप पर्ने बताउँदै नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले थप्नुभयो– ‘शोधनान्तर बचतमा पनि चाप पर्नेछ।’नेपालले भारतबाट तेल खरिद गर्दै आएको छ भने भारतले अन्य मुलुकबाट तेल आयात गर्दछ। भारतले सबैभन्दा बढी तेल आयात गर्ने मुलुकमध्ये इरान पनि एक हो।इरानमा द्वन्द्व बढ्दा तेलको मूल्यमा वृद्धि हुन जाने बताउँदै अर्थविद् डा. अधिकारीले यसबाट नेपालमा आयात हुने तेलको मूल्यमा वृद्धि भई तेल अभाव नै हुनजाने सम्भावना औंल्याउनुभयो।

उहाँले भन्नुभयो– ‘भारतबाट तेल किनिने भए पनि भारतले खाडीबाट तेल किन्ने हुँदा यसमा कडाइ हुन गई मूल्य बढ्छ, जसको प्रत्यक्ष प्रभाव नेपालमा पर्छ।यसरी मूल्य बढ्दा नेपालको अर्थतन्त्रको लागत बढ्न गई यसले समग्र अर्थतन्त्र प्रभावित हुन्छ।’

अमेरिका र इरानबीचमा तनाव हुँदा नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने बताउँदै डा. अधिकारीले नेपालीले मूल्यवृद्धिको मार खेप्नुपर्ने अवस्था आउने बताउनुभयो।यी सबैको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै द्वन्द्वग्रस्त क्षेत्रबाट आउने पर्यटकहरूको संख्यामा गिरावट आई मूल्यवृद्धि हुने हुँदा पर्यटकले खर्च गर्ने क्षमतामा ह्रास हुने उहाँको भनाइ थियो।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले पनि मध्यपूर्वमा तनाव जारी रहेमा नेपालमा सबैभन्दा ठूलो असर विप्रेषण आप्रवाहमा नै पर्ने बताउनुभयो।नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो– ‘ठूलो संख्यामा विप्रेषण आप्रवाह खाडी मुलुकबाट नै हुन्छ, त्यसले वैदेशिक रोजगारीको निरन्तरतामाथि नै प्रश्न उठ्न सक्छ।’विप्रेषण आप्रवाह कम हुँदा त्यसको असर सामाजिक तथा आर्थिक सूचकहरूमा पर्न जाने बताउँदै नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले यसले गरिबी निवारणमा पनि असर गर्ने चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो– ‘मध्यपूर्वमा तनाव रहिरहे विदेशी विनिमय सञ्चिति प्रभावित हुन जान्छ।’

उहाँले गरिबी निवारणको अभियानमा असर पर्ने, उपभोगमा असर गर्ने, सामाजिक आर्थिक, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्राप्त भएका उपलब्धिहरूमा नकारात्मक असर पर्न जाने उल्लेख गर्नुभयो।उहाँले विशेष गरी निम्न तथा मध्यमवर्गीय परिवारमा यसले नकारात्मक असर पार्ने बताउनुभयो।


१. विप्रेषण आप्रवाहमा गिरावट

२. मूल्यवृद्धि

३. पर्यटकहरूको आगमनमा कमी

४. गरिबी निवारणमा असर

५. रोजीरोटी नै गुम्ने खतरा

यसै गरी उहाँले मध्यपूर्वमा तनाव जारी रहेमा भविष्यमा भने यसले अवसर सिर्जना गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको औंल्याउनुभयो।उहाँले द्वन्द्वका कारण विदेशमा रहेका नेपाली कामदार फर्कने र आन्तरिक रोजगारीका अवसरहरू खोज्न दबाब सिर्जना हुने बताउनुभयो।

मध्यकालमा भने यस तनावले नेपाललाई केही अवसर दिने बताउँदै उहाँले भन्नुभयो– ‘कृषिसँग सम्बन्धित वस्तुहरू (तेल, चिनी, खाद्यान्न)लगायतको आयातमा कमी आउनसक्छ, किनभने नेपाली जनशक्तिले नै यसको उत्पादन बढाउन सक्छ।’

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘त्यहाँ रहेका नेपाली कामदारहरू फर्कन सक्ने सम्भावना रहन्छ, यसबाट नेपाललाई खाडी मुलुकबाट प्राप्त हुने रेमिट्यान्स रकममा गिरावट आउँछ।’

नेपालको ग्रामीण क्षेत्रमा अझै पनि गृहस्थी चलाउने, बालबच्चालाई शिक्षा दिनेलगायतका कामका लागि आफन्तले विदेशमा काम गरेर कमाएको रकम नै मुख्य आधार भएको बताउँदै उहांँले मध्यपूर्वमा जारी तनावले त्यो आधार खोस्न जाने चिन्ता व्यक्त गर्नुभयो।

‘नेपालीहरूको आधारभूत आवश्यकता परिपूर्ति गर्न विदेशमा गएका नेपाली कामदारको मुख्य भूमिका हुन्छ, उनीहरू नै यता फर्केपछि कसरी जीविकोपार्जन गर्ने?’ –उहाँले थप्नुभयो।सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारासहित शुरू गरेको नेपाल भ्रमण वर्ष २०२० का लागि पनि मध्यपूर्वी तनावले नकारात्मक असर पार्ने देखिएको छ।

अमेरिका र इरानबीच जारी द्वन्द्व तथा इरानले युक्रेनको विमान खसाउनुजस्ता केही मुख्य घटनाक्रमले नेपाल भ्रमण वर्षको अभियानमा असर गर्ने देखिन्छ।यस घटनापछि उडानका लागि अन्य रूटहरू प्रयोग गर्नुपर्दा विदेशी पर्यटकको सङ्ख्या कम हुने र २० लाख बाह्य पर्यटक नेपाल भित्रयाउने सरकारको लक्ष्यमा धक्का लाग्ने बताउँदै थापाले पनि विश्व बजारमा तेलको मूल्य बढिसकेकाले यसबाट नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने उल्लेख गर्नुभयो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।