चाँगुनारायणको एकिकृत शहरी विकास योजना तर्जुमा कार्यशाला सुरु



पुष्करराज बुढाथोकी,भक्तपुर।

चाँगुनारायण नगरपालिकाको एकिकृत शहरी विकास योजना तर्जुमाका लागि ३ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । शुक्रबारबाट नगरकोटमा सुरु भएको गोष्ठीमा चाँगुनारायण नगरपालिकाको दिर्घकालिन बिकास संभावना ,चुनौति र अवसरबारे गहन छलफल हुने नगरप्रमुख सोम मिश्रले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै संघीय साँसद प्रेम सुवालले सन्तुलित बिकास हुने गरी नगरपालिकाको एकिकृत शहरी विकास योजना बन्नुपर्ने बताउनुभयो ।

तीव्र शहरीकरण भईरहेको सन्दर्भमा नेपालमा पनि विगत केहि दशकदेखि  अनियन्त्रित शहरी विकास देखिएको भन्दै उहाँले शहर र बस्ती विकासका लागि भौतिक विकास योजनाहरुको तर्जुमा धेरै पहिलेदेखि भैआएतापनि यसलाई कार्यान्वयनमा ल्याउन र शहरी विकास गर्न एकीकृत योजनाबद्ध शहरी विकासको आवश्यक रहेको बताउनुभयो ।

गोष्ठीले संरक्षित,समृद्ध तथा स्वस्थकर र ब्यबस्थित नगरको विकास गर्नतर्फ बाटोदे खाउने गरी योजना निर्माण गर्ने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी तिमिल्सिनाले बताउनुभयो ।

कार्यक्रममा परामर्शदाता दिघो बिकास र अनुसन्धान केन्द्रका परामर्शदाता तथा प्राविधिकहरुले नगरपालिकाको १५ बर्षे योजनाको समग्र बिकासको खाका पेश गर्ने र सो माथि बृहत् छलफल र परामर्श हुने र समग्रमा एउटा प्रारम्भिक गुरुयोजना तयार हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका उपप्रमुख बिना बास्तोलाको स्वागतबाट सुरु भएको कार्यशाला गोष्ठीमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल,उपप्रमुख सरिता कुवँर,सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने,शहरी बिकास योजनाबिद् बाबुराम भट्टराई ,लगायत नगरका जनप्रतिनिधि ,कर्मचारी राजनीतिक दल ,बुद्धिजीवि ,पत्रकार सामाजिक कार्यकर्ताहरुको प्रतिनिधिमुलक सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्