महाधिवेशनको कार्यतालिका परिवर्तन हुँदैन : देउवा



रामकृष्ण चापागाईं, काठमाडौं।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनको कार्यतालिका परिवर्तन नगर्ने बताउनुभएको छ। यही पुस ११ गते केन्द्रीय समितिले २०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएकोमा त्यसमा परिवर्तन आवश्यक छ भन्दै जिल्ला सभापतिहरूले राखेको मागका सम्बन्धमा उहाँले यस्तो जबाफ दिनुभएको हो।

महाधिवेशनको आयोजनाजस्तो महत्वपूर्ण निर्णयसमेत बहुमतबाट गरेको भन्दै जिल्ला सभापतिहरूले आलोचना गर्दै आएका छन्। पार्टी केन्द्रीय कार्यालयमा तीन दिनसम्म परामर्श बैठक बसेका जिल्ला सभापतिहरूलाई बिहीबार आफ्नै निवासमा बोलाएर सभापति देउवाले क्रियाशील सदस्यतासमेत पारदर्शी ढंगले वितरण गरिने बताउनुभएको छ।

काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यका अनुसार देउवाले जिल्ला सभापतिहरूलाई क्रियाशील सदस्यता छानबिन गर्न समितिसमेत गठन गर्ने आश्वासन दिनुभएको छ। १३औं महाधिवेशनमा नेता नरहरि आचार्यको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समिति गठन गरिएको थियो।

सभापति देउवाले पार्टी एकलौटी ढंगले सञ्चालन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत संस्थापन पक्ष इतरका नेताहरूले तीन दिनसम्म जिल्ला सभापतिहरूसँंग परामर्श गरी पुस ११ गते भएको केन्द्रीय समितिको निर्णय सच्याउन माग गरेका थिए।

११ गतेको बैठकले क्रियाशील सदस्यता वितरण सम्बन्धी विधानको केही धारा निलम्बन गर्ने निर्णय पनि गरेको थियो। बहुमतद्वारा गरिएको निर्णय नमान्ने भन्दै संस्थापन पक्ष इतरका नेताहरूले सभापति देउवाविरुद्ध मोर्चावन्दी गर्दै जिल्ला सभापतिहरूलाई राजधानी बोलाएर परामर्श बैठक राखेका थिए।

परामर्श बैठकको निर्णयबारे जिल्लासभापतिहरूको तर्फबाट काभ्रे जिल्लाका सभापति आर्चाले केन्द्रीय सभापति देउवालाई जानकारी गराउनु भएको थियो।

जिल्ला सभापतिहरूले पुस ११ गतेको निर्णय सच्चाउनु पर्ने, महासमितिले पास गरेको दुई वुदा महाधिवेशन प्रतिनिधि तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने र समावेशी र समानुपातिक कोटामा एक व्यक्तिले एकपटक मात्र अवसर पाउनुपर्ने विषयलाई केन्द्रीय समितिले उल्टाएको बारेमा पनि सच्चाउनुपर्ने बताएका थिए।

साथै भागवण्डाको आधारमा नभै पार्टीभित्र योग्यता, क्षमता र निरन्तरताको आधारमा जिम्मेवारी बाडफाड हुनुपर्ने माग पनि जिल्ला सभापतिहरूले राखेका थिए।

सभापति देउवालाई जिल्ला सभापतिहरूले महाधिवेशनको कार्यतालिका सार्वजनिक भैसकेकोले निर्वाचन सम्बन्धी समितिबाहेक अन्य कुनै पनि समितिहरूमा मनोनयन नगरियोस् भनी ध्यानाकर्षण पनि गराएका थिए।

जिल्ला सभापतिहरू संग सभापति देउवाले फागुन ७ गते प्रजातन्त्र दिवस भएको र यो दिन कांग्रेसको लागि विषेश महत्वको दिन भएकोले महाधिवेशन गर्ने कार्यतालिका २०७७ फागुन ७ बाट नसारिने बताउनु भएको थियो।

देउवाको भनाइ उधृत गर्दै काभ्रे सभापति आचार्यले भन्नुभयो– तपाईहरू पनि समायोजन लगायत जिल्लाका अधिवेशन समयमै सक्नुहोला, महाधिवेशन गर्ने दिन फागुन ७ नसारौं।

महाधिवेशनको जोड घटाउका साथ काग्रेस भित्र आन्तरीक रुपमा गुट उपगुट बढ्दै गएको र विवादले उग्र रुप लिएको सन्दर्भमा सभापति देउवाले अहिले एकजा गरि जानुको विकल्प नभएको भन्दै आफु पार्टी भित्र सहमति सहकार्य गरी अघि बढ्ने जिल्ला सभापतिहरूलाई आश्वासन दिनुभएको थियो।

सभापति देउवाले एकलौटी निर्णय गरेको भन्दै संस्थापन पक्ष इतरका नेताहरूले लगातार विरोध गरिरहेको बेला देउवाको यो आश्वासनले पार्टी सहमतिकासाथ अघि बढ्ने आशा पलाएको जिल्लासभापतिहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्