दूरसञ्चारको निर्णय सरकारद्वारा बदर



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय सरकारले बदर गरेको छ ।

व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपालसहित समयमै शुल्क नदिएको भन्दै स्मार्ट टेलिकम र वेब सर्फर कम्युनिकेसनको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णय सरकारले खारेज गरेको हो ।

खारेजीको निर्णय बदर गर्दै कम्पनीहरुलाई किस्ताबन्दीमा शुल्क बुझाउने गरी व्यवस्था मिलाउन प्राधिकरणलाई लेखी पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सरकारको निर्णयअनुसार यी तीन कम्पनीले पाँच किस्तामा बाँकी रकम बुझाउनुपर्ने छ। पहिलो किस्ता आउने असार मसान्तभित्र र बाँकी चार किस्ता चार वर्षभित्र बुझाउनुपर्ने छ।हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि पाएको लाइसेन्स प्राधिकरण बोर्ड बैठकले यसअघि खारेज गर्ने निर्णय गरेको थियो।

हेलो नेपालले बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शुल्क बापतको ८० करोड रुपैयाँ तोकिएको समयमा नदिएका कारण प्राधिकरणले लाइसेन्स खारेज गरेको थियो।प्राधिकरणले लाइसेन्स खारेज गरेपछि हेलो नेपालले नेपाल सरकारसमक्ष पुनरावेदन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्