निसन्तान दम्पतिको जमिन हडप्न किर्ते नागरिकता



सञ्जय कार्की,रौतहट ।

किर्ते नागरिकता प्रमाणपत्र बाट छोरा बनेका दुई जनाले निसन्तान दम्पतिको जमिन हडप्न जिल्ला अदालत गौर लाईनै भ्रममा पारेको खुल्न आएको छ । ०३९ सालमा मृत्यु भएका चन्द्रपुर नगरपालिका–५ निबासी दिनकर धामीको ३ कटठा १५ धुर जमिन हडप्न जयबिर धामी र दिनेश धामी भने नम्कली छोरा बनेको पाइ्रएको छ ।

दुबैले किर्ते नागरिकता प्रमाण पत्र जारी गरेर दिनकर धामी लाई बुवा बनाएको खुल्न आएको छ । दिनकर धामीको नक्कली दुई छोरा बन्दै दिनेश धामीले ०४५ माघ १९ गते नागरिकता प्रमाण पत्र ४१२ र जयबिर धामीले ०४५ बैशाख ५ गते नागरिकता प्रमाण पत्र २०४० लिएको प्रमाण जिल्ला अदालत गौरमा पेश गरेर जमिन हडपेको भएतापनि ती दुबै नागरिकता प्रमाण पत्रको अभिलेख जिल्ला प्रशासन कार्यालयमा रहेको छैन ।

अपरिचित दुबैले किर्ते नागरिकता प्रमाण पत्र बनाएको उजुरी ईलाका प्रशासन कार्यालयमा दर्ता गरेको भएपनि अझै त्यसको सुनवाई नभएको हरीकृष्ण धामीले बताउनु भयो । नक्कली दुई छोरा बनेका एक अर्काले बादि र प्रतिबादी बन्दै दिनकर धामीको जमिन जिल्ला अदालत गौर बाट आदेश गराएर चन्द्रपुर–५ को कितानम्बर १४५ बाट जयबिर धामीले किताकाट गर्दै ५४९९को किता बाट १ कटठा १५ धुर र दिनेश धामीले किता काट गर्दै ५४९८ बाट २ कटठा जमिन आफनो नाममा दर्ता गराएको खुल्न आएको छ ।

जिल्ला अदालत गौरका माननीय जिल्ला न्यायधिश दिपक कुमार दाहालको बेन्चले अशंबण्डाको मिलापत्र गराएको हो । ०४५ सालमा नागरिकता लिएका भनिएका जयबिर धामीको जन्म मिति ०३५ सालमा १७ बर्ष देखाइएको छ तर जन्म र नागरिकता प्रमाण पत्र लिएको उमेर हेर्दा १० बर्षको मात्र देखिन्छ ।

ती दुबै धामीले ०७५ बैशाख १२ गते आफनो नाममा जग्गा दर्ता गराएर काठमाण्डौ महानगरपालिका–३ निबासी ६३ बर्षिय नरबहादुर श्रेष्ठ लाई बिक्री गरेपछि यस्को रहश्य खुलेको हो । नक्कली छोरा बनेका दुबै धामी लाई स्थानीयले भने चिन्दैनन । धामीले किर्ते नागरिकता प्रमाण पत्र बनाएको उजुरीको बिषयमा आफुले गम्भिरता पुर्बक हेर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्