मेयर शाक्यद्वारा विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमन



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमनलाई निरन्तरता दिनु भएको छ ।

यस अघि वडा नम्बर ७, ९, १६ र २६ को स्थलगत अनुगमन गर्नुभएका मेयर शाक्यले आज वडा नम्बर १० का विभिन्न स्थानको स्थलगत अनुगमन गर्नुभएको हो । आफु निर्वाचित भएर आएपछिका अढाई वर्षमा वडामा भए–गरेका विकास निर्माण र कामको प्रत्यक्ष जानकारी लिन अनुगमन थालेको मेयर शाक्यको बताउनुभयो । आज मेयर शाक्यले वडा १० का वडाध्यक्ष रामकुमार केसी, वडाध्यक्षहरु सतिस तण्डकार, सुनिता भित्रकोटी, रोहिनी श्रेष्ठलगायतको टोलीसहित बुद्धनगर, नयाँ बानेश्वर, गंगादेवी मन्दिर, सहभागिता मार्ग, पुजा–प्रतिष्ठान मार्ग, युएन पार्क आसपासको क्षेत्रलगायतका स्थानको निरिक्षण गर्नुभयो ।

‘भएका कामको अवलोकनसँगै गर्न बाँकी कामको कार्ययोजना बनाएर योजनाबद्ध रुपमा अघि बढ्नका लागि मैले प्रत्येक वडाको निरिक्षण थालेको हुँ,’ बुद्धनगरमा स्थानीय मतदातासँगै भेटिनु भएका मेयर शाक्यले भन्नुभयो, ‘एकीकृत विकास हुनुपर्छ भनेर हामी लागेका छौँ । जनताको चाहना पनि त्यहि छ । तर, कतिपय ठाउँमा मेलम्ची खानेपानी, सडक विभागलगायतले खन्ने–पुर्ने काम गर्दा समस्या भएको छ ।’ उहाँले खाल्टाखुल्टी, पुर्ने, सहायक बाटाहरु भत्किएको ठाउँमा तत्काल मर्मत गर्न लगाउने जस्ता निर्देशन पनि निरिक्षणका क्रममा दिने गरेको बताउनुभयो । बुटवल हाइड्रो पावर नजिकैको चार तले घर नजिकै थुपारिएको फोहोरको डंगुर देखाउँदै मेयर शाक्यले भन्नुभयो– ‘यति ठूलो घर बनाउने घरधनीले बाटो पनि हाम्रो हो भन्ने हेक्का राख्ने हो र जनप्रतिनिधिको मात्र मुख नताक्ने हो भने सरह निकै सफा हुने थियो ।’

मेयर शाक्यले वडा नम्बर–१० लाई यो आर्थिक वर्षमा मात्रै रु तीन करोड विनियोजन गरेको भन्दै अझै थप एक करोड ५० लाख दिने भएकाले बजेट नभएर काम भएन भन्ने सुन्नु नपरोस भन्नुभयो । ‘अब सडक वरीपरीका पेटीहरु महानगरपालिकाले नै मर्मत गर्ने तयारी भएको छ,’ उहाँले भन्नुभयो, ‘बजेट जति चाहिन्छ माग्नुहोस् तर जन अपेक्षा अनुसार काम गर्ने कुरामा कमजोरी नहोस् । मेयर शाक्यले निरिक्षणकै क्रममा बुद्धनगर आधार विद्यालय निर्माणको कामलाई छिटो सम्पन्न गर्न निर्देशन दिनुभयो । वडा सदस्य तण्डुकारले सो विद्यालयमा गरिब, सुकुम्वासी, घरेलु श्रम गर्नेका बाल–बच्चा अध्ययन गर्ने भएकाले सो विद्यालयको शिक्षामा पनि ध्यान दिने बताउनुभयो ।

त्यसैगरी मेयर शाक्यले सिद्धेश्वर महादेव मन्दिर नजिकैका दुई ओटा घरले सडक नै मिचेर संरचना बनाएपछि तत्काल हटाउन वडा सदस्यलाई निर्देशन दिनुभयो भने वडा सदस्य तण्डुकारले पनि नगर प्रहरी लगाएर तत्काल हटाउन लगाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मेयर शाक्यले वडा निरिक्षणका क्रममा विभिन्न वडामा भएका सार्वजनिक जग्गाहरुको समेत लागत राख्ने र वडावासीको माग अनुसार हरियाली प्रर्वद्धन गर्दै कतिपय स्थानमा पार्क निर्माण गर्ने समेत महानगरको योजना रहेको बताउनुभयो । ‘केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो । कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरेका हौँ । यस्ता खाले अनुगमन ३२ वटै वडामा गर्ने तयारी भएको छ ।’ उहाँले यस्ता खाले अनुगमनलाई निरन्तरता दिने पनि बताउनुभयो ।

अनुगमनकै क्रममा युएन पार्क नजिक भेटिनुभएका पवित्र उपभोक्ता समाजका अध्यक्ष अच्युतराज ज्ञवालीले मेयर शाक्यसहितको टोलीलाई आफ्नै घर–दैलोमा देख्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘जनप्रतिनिधि निर्वाचनपछि अर्को निर्वाचनका बेलामा मात्रै देखिन्छन् । तर, मेयरज्यु यसरी मतदाताको घरदैलोमा विकास निर्माणका कामबारे जानकारी लिन आउनु खुशीको कुरा हो,’ उहाँले भन्नुभयो, ‘यो नयाँ बस्ती हो । ललितपुर र काठमाडौँको सिमानामा छौँ । कालापानीको जनता जस्तै भएका छौँ । मेयरज्यु आएर यहाँ भएको विकासबारे जानकारी लिनुभयो । आशा गरौँ धेरै कुरा समाधान हुनेछन् ।’ उहाँले नयाँ बस्ती भएकाले ढल, पानी, सीसी क्यामेरालगायतको व्यवस्था नहुँदा समस्या भएको भन्दै मेयर शाक्यलाई योजना बनाएरै विकासको काम अघि बढाउन सुझाव दिनुभयो ।

‘हामी हरेक हप्ता यो टोलमा आफैँ सरसफाई गर्दै आएका छौँ,’ उहाँले भन्नुभयो, ‘पहिला भन्दा त धेरै काम भएको छ । तर, अझै छिटो कामले गति लिने हो भने हामी सन्तुष्ट हुने थियौँ ।’ ज्ञवालीको जस्तै तर्क छ चिरञ्जिवि तिमल्सेनाको पनि । उहाँ पनि बेला–बेलामा जनप्रतिनिधि मतदाताको घर–दैलोमा आउने कुरालाई सकारात्मक रुपमा लिनुहुन्छ । ‘यो सकारात्मक छ,’ उहाँले भन्नुभयो, ‘कुन ठाउँमा के भयो कुन ठाउँमा के गर्न बाँकी छ भन्ने जस्ता जानकारी उहाँले लिने कुरा सकारात्मक छ । हामी आशावादी छौँ ।’ वडा सदस्य तण्डुकारले पनि मेयर शाक्यलाई काम सम्पन्न भएका भन्दा पनि काम गर्न बाँकी रहेका ठाउँको अवलोकन गराएको भन्दै काम गर्ने सिलसिलामा भएका कमजोरीलाई सच्याएर अघि बढ्ने बताउनुभयो ।

निरिक्षणकै क्रममा मेयर शाक्य बडा कार्यालय पनि पुग्नु भएको थियो । वडा कार्यालयमा काम गरिरहेका कर्मचारीहरुसँग पनि उहाँले केही बेर कुराकानी गर्नुभएको थियो । काम गर्ने सिलसिलामा परेका अप्ठ्याराका बारेमा वडा सदस्य र अध्यक्षसँग खुलेर कुराकानी गर्न आग्रह गर्दै सेवाग्राहीको काममा ढिलासुस्ती नगर्न उहाँले निर्देशन दिनुभयो । विरामी भएर स्वास्थ्यलाभ गरिरहनु भएका वडाध्यक्ष केसी पनि मेयर शाक्यसँग केही बेर सँगै हिड्नु भएको थियो भने वडाको निरिक्षणमा पनि सँगै हुनुहुन्थ्यो । वडा सदस्य तण्डुकारले वडा–१० मा करीब १ सय ३२ रोपनी सार्वजनिक जग्गा रहेको भनिए पनि अहिले १२–१५ रोपनी मात्र पत्ता लागेको भन्दै सबै सार्वजनिक जग्गा खोज्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्