संघबाट नेताहरूको पुनः निर्देशन – राजधानी हेटौंडै, नाम बागमती नै



रोशन पराजुली, हेटौंडा।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले प्रदेश नं ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती नै राख्न आफ्नो दलको प्रदेश ३ को संसदीय समितिलाई पुनः निर्देशन दिएका छन्।

हिजो मंगलबार बस्ने भनिएको बैठकमा संसदीय सभामुख सानुकुमार श्रेष्ठले सोको टुंग्गो लगाउने कार्यतालिका प्रस्ताव गरे पनि नेकपा संसदीय दलको बैठक लम्बिएपछि संघीय नेताहरूले पुनः निर्देशन दिएका हुन्।

अघिल्लो आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेशसभा दललाई प्रदेशको राजधानी हेटौंडा नै राख्ने गरी निर्णय गर्न निर्देशन दिएको थियो।

ती नेताहरूले आफ्नो अधिकार क्षेत्रमाथि हस्तक्षेप भएको भन्दै पार्टी सचिवालयको निर्देशन नमान्ने प्रतिक्रिया दिने सांसद्हरूलाई काठमाडौंमै बोलाएर निर्देशन दिएका थिए।

असन्तुष्ट प्रदेश सांसद्हरूको टोलीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई भेटेर छलफल गरेको थियो।

मुख्यमन्त्री डोरमणि पौडेलको निवास हेटौंडामा चलिरहेको बैठक स्थगित गरी प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, मुख्य सचेतक रामेश्वर फुयाँल, मन्त्रीत्रय शालिकराम जम्कट्टेल, कैलाश ढुंगेल र युवराज दुलाल, सांसद्हरू राजेन्द्र पाण्डेलगायतका नेताहरू काठमाडौं पुगेको थिए।

करिब ३ घन्टासम्म भएको उक्त छलफलमा शीर्ष नेताहरूले पार्टीले निर्णय गरिसकेको हुँदा हेटौंडालाई नै राजधानी र वाग्मती नै नाम राख्न सुझाब दिएका थिए।

नेताहरूले सचिवालयको निर्देशनअनुसार नै अगाडि बढ्न निर्देशन दिएको स्वीकार्दै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री जम्कट्टेलले भन्नुभयो–सुरक्षा निकायको रिपोर्ट र पार्टीभित्र व्यापक छलफलपश्चात् हेटौंडा र बागमती छनोट गरिएको सचिवालयका नेताहरूले भन्नुभएको छ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले हेटौंडालाई राजधानी बनाउनुमा अन्य महत्वपूर्ण विषय रहेको बताउनुभएको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकेको थियो। प्रदेशसभा बैठक बुधबार दिउँसो ३ बजे बस्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्