गौतमवुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई हेटौंडाबाट ३० लाख सहयोग



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकाले धुर्मुश–सन्तुली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण जारी राखेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ३० लाख रुपियाँ सहयोग हस्तान्तरण गरेको छ ।

अघिल्लो दिन घोषणा गरिएको रकमको चेक मंगलबार हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लार्ई हस्तान्तरण गरेका हुन् ।

करिब साढे दुई अर्ब रुपियाँ लागतमा निर्माण गर्न लागिएको क्रिकेट रंगशालाका लागि तीन तहका सरकारको यो लगानी हेटौंडा उपमहानगरपालिकाको पहिलो हो । तीन तहका सरकारले रंगशाला निर्माणका लागि सहयोगको आश्वासन दिए पनि सहयोग रकम भने हस्तान्तरण गरेका छैनन् ।

देशभरका ७ सय ५३ स्थानीय तह, सात वटा प्रदेश सरकार र संघीय सरकारमध्ये पहिलोपटक हेटौंडा उपमहानगरपालिकाले सरकारीतर्फको सहयोग हस्तान्तरण गरेको धुर्मुस–सुन्तली फाउन्डेसन अध्यक्ष धुर्मुसले बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धेरै व्यक्ति, संघसंस्था, विदेशमा रहेका नेपालीले सहयोग गरे पनि तीन तहका सरकारले भने सहयोग हस्तान्तरण गरिसकेका थिएनन् । हालसम्म रंगशाला निर्माणको काम व्यक्ति, संघसंस्थाको सहयोगले भएको छ । तर, रंगशाला निर्माणको काम तीव्रगतिमा अगाडि बढाउन सहयोग पु¥याउने उद्धेश्यले सहयोग गरिएको मेयर महतले बताए । सबै तहका सरकारको सहयोग यही गतिमा हुने हो भने तोकिएको समय भन्दा अगावै काम सकिने अध्यक्ष धुर्मुसले बताए ।

क्रिकेट रंगशाला निर्माण गर्ने काम तीव्रगतिमा अगाडि बढेकोले यसलाई सबै सरकारले उत्तिकै सहयोग गर्नुपर्ने बताउँदै मेयर महतले भने–सरकारले गर्नुपर्ने काम कलाकारले गर्नुभएको छ । यो ठूलो काममा थोरै भने पनि स्थानीय सरकारले सहयोग गरौं भनेर रकम लिएर आएको हुँ । यो अभियानमा सहयोग निरन्तर गर्नेछौं ।

पहिलोपटक सरकारी रकम प्राप्त गरेकोमा भावुक हुँदै कट्टेलले भने–धेरै आश्वासन आएका छन् । तर, सहयोग भने आएको छैन । सरकारी सहयोग हस्तान्तरण गर्ने पहिलो सरकारी निकाय हेटौंडा उपमहानगरपालिका हो ।

फाउन्डेसन उपाध्यक्ष घिमिरेले सरकारीतर्फ पहिलो रकम घोषणा गरेको दोस्रो दिनमा नै हस्तान्तरण गरेकोमा आफू खुशीसँगै भावुक बनेको बताइन् । उनले भनिन्–जनताले तिरेको करको रकम स्थानीय सरकारले सहयोग गरेकोमा हामी खुशी छौं । पहिले धेरैले यो काम कसरी सम्भव होला भन्नेलाई हामी प्रमाणित गरेर देखाउँछौं । रंगशाला निर्माणमा दिनहुँ तीन सय कामदार खटिएका छन् ।

चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा बनविश्वविद्यालय परिसरको शान्तिचोकमा रहेको २० बिघा ८ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्