गण्डकी प्रदेशमा विकास निर्माणको जग बसाल्दैछौंः मुख्यमन्त्री गुरुङ



प्रताप बानियाँ, म्याग्दी ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार विकास निर्माणका लागि आवश्यक आधारहरु तयार पार्न लागिपरेको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहलको मङ्गलबार बेनीमा उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशभित्र विकास निर्माणको जग बसाउन आवश्यक ऐन, कानुनको निर्माण थालिएको बताउनुभएको हो ।

मुख्यमन्त्री गुरुङले प्रदेश समन्वय परिषदको हालसम्म तीनवटा वैठक बसिसकेको बताउँदै कानुन तर्जुमा गर्नका लागि सहजीकरण समिति बनाइएको बताउनुभयो । उहाँले प्रदेशभित्र विकास निर्माणको आधार निर्माण गर्न विभिन्न पहलहरु भैरहेको बताउँदै प्रदेशको विकासका लागि सडक, कृषि, पर्यटन, जलविद्युत र खानेपानीलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा अझै पनि ९ प्रतिशत घरधुरी विद्युत सेवाबाट बञ्चित रहेको भन्दै उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत तत्कालका लागि सोलार प्यानल जडान गरेरै भए पनि विद्युतीय सेवा उपलब्ध गराइने बताउनुभएको छ ।

प्रदेश प्रहरी ऐन बनाउनका लागि जनतासँग सुझाव माग गरिने बताउँदै मुख्यमन्त्री गुरुङले विदेशी सहयोग र लगानी भित्र्याउन आवश्यक नीति, ऐन निर्माण गरी सार्वजनिक, निजी क्षेत्र र सहकारी मिलेर अगाडि बढ्ने धारणा राख्नुभयो । उहाँले गण्डकी प्रदेशमा आवश्यक जनशक्तिको विकास र उत्पादन गर्न प्रदेश विकास प्रतिष्ठान बनाइने बताउँदै विकास निर्माणलाई जोड दिन मुख्यमन्त्रीको नेतृत्वमा प्रदेश विकास समस्या समाधान समिति बनाइने बताउनुभयो ।

विकासे योजनाहरुको कार्यान्वयन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (आइई) गर्नका लागि प्रदेश र स्थानीय तहमा वन तथा वातावरण ऐन निर्माणको तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री गुरुङले पञ्चवर्षीय योजनाको खाका बनाइएको बताउँदै संघ, प्रदेश र स्थानीय तहले निर्माण गर्ने योजनाको वर्गीकरण गरेर अगाडि बढेमा डुब्लिकेसन नहुने बताउनुभयो । उहाँले गण्डकी प्रदेशको तनहुँ, लमजुङ, स्याङ्जा, म्याग्दी र मुस्ताङमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने जानकारी दिँदै मुस्ताङ जिल्लामा हाई अल्टिच्युडको रङ्गशाला निर्माण गरिने जानकारी समेत दिनुभयो । संघ, प्रदेश र स्थानीय तहको सहभागितामा रङ्गशाला निर्माण गरिने भन्दै उहाँले रङ्गशाला निर्माणका लागि सम्बन्धित स्थानीय तहले डिपिआर तयार गरेर पठाउनुपर्ने बताउनुभएको छ । स्थानीय तहले योजना निर्माण गर्ने क्रममा संघ र प्रदेश सरकारले बनाएको योजनालाई हेरेर बनाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

राष्ट्रिय अर्थतन्त्रका हिसाबले गतवर्ष अन्य प्रदेशहरुको तुलनामा गण्डकी प्रदेश अगाडि रहेको बताउँदै मुख्यमन्त्री गुरुङले यसवर्ष ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्याइने लक्ष्य लिइएको बताउनुभयो । उहाँले हाल नेपालको प्रतिव्यक्ति आय १ हजार ४१ डलर रहेको भन्दै १५ सय ४० डलर पु¥याउनुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा अहिले ७२ वर्ष औषत आयु रहेकोमा ७५ वर्ष पुर्याइने बताउँदै त्यसका लागि प्रदेशभित्र क्यान्सर, मुटु, बालरोग नियन्त्रणका लागि अस्पतालहरु निर्माण गरिने बताउनुभयो । उहाँले विशेष सहयोगमार्फत जिल्ला अस्पतालहरुलाई ३३ करोड रुपैयाँ पठाइएको बताउनुभयो ।

सोही अवसरमा बोल्दै पूर्व मन्त्री तथा सांसद थममाया थापाले विगतको समयमा भन्दा पछिल्लो समय संघीयताको कार्यान्वयनसँगै विकास निर्माणले गति लिएको बताउनुभयो । उहाँले जनताको काम नगर्ने, दुःख दिने र गैरकानुनी कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइएको बताउँदै जनताले अनुभूति हुनेगरी सुशासन कायम हुन थालेको बताउनुभएको छ । उहाँले अन्य प्रदेशहरुको तुलनामा गण्डकी प्रदेश सानो भए पनि प्राकृतिक स्रोत र साधनका हिसाबले अब्बल रहेको भन्दै कृषि, पर्यटन र जलविद्युतको पर्याप्त सम्भावना रहेकाले सोही अनुसार नीति र योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व सभासद गोविन्द पौडेलले बेनी–दरबाङ–जलजला–ढोरपाटन हुँदै रुकुम जोड्ने सडक निर्माण कार्यलाई जोड दिन आग्रह गर्नुभएको छ । पूर्व सांसद नवराज शर्माले नेपालमा राजनीतिक संरचना बदलिएको हुँदा अब धर्तीको संरचनालाई बदल्नुपर्ने भन्दै त्यसको एउटा उदाहरण जिसस सभाहल समयमै निर्माणसम्पन्न भएको बताउनुभयो ।

सांसद रेशमबहादुर बानियाँले जिसस सभाहल निर्माणका क्रममा आफूले पनि पटकपटक अनुगमन गरेर सल्लाह, सुझाव दिइएको बताउँदै म्याग्दी जिल्लाको विकास निर्माणलाई गति दिन मुख्यमन्त्रीको ध्यानाकर्षण समेत गराउनुभयो । गण्डकी प्रदेशका सदस्य विनोद केसीले प्रदेश सरकारमार्फत जिल्लामा विकास निर्माणका धेरै कामहरु थालिएको जानकारी दिँदै विकास निर्माणमा विनियोजन भएको बजेटको कार्यान्वयनका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षता, सदस्य शेरबहादुर केसीको स्वागत र समन्वय अधिकारी ज्ञानराज कोईरालाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तत्कालीन शान्ति तथा पुनर्निमाण मन्त्रालयको एक करोड ४२ लाख र गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड ८८ लाख ८६ हजारसहित कुल तीन करोड ३० लाख ८६ हजार रुपैयाँको लागतमा करिब ५ सयजना अट्न सक्ने क्षमताको सभाहल निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्