भ्रष्टाचारविरुद्ध अख्तियारका २१ अधिकारीहरुलाई भारतमा प्रशिक्षण



न्युज अफ नेपाल, काठमाडौं ।

भ्रष्टाचारविरुद्धको विशेष तालिम लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीहरुलाई भारत पठाइएको छ ।

२१ जना अख्तियार अधिकारीहरुको दोस्रो ब्याचले गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटी (जीएफएसयू) मा ‘ठगी, घुसखोरी र भ्रष्टाचार निवारण’ विषयमा २१ पुसदेखि तालिम सुरु गरेको छ । यसअघि पनि अख्तियारकै २१ जना अधिकारीहरुको पहिलो ब्याचले ३० मंसिरदेखि ५ पुससम्म सोही विषयमा प्रशिक्षण लिएका थिए ।

नेपाल सरकारकै आग्रहमा अख्तियारका कुल ४२ अधिकारीका लागि विशेष कोर्ष बनाएर तालिम दिइएको युनिभर्सिटीले जनाएको छ । भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा यो कोर्ष केन्द्रित रहेको जनाइएको छ । सो कोर्षले नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवं सुशासन कायम राख्न सघाउने बताइएको छ ।

भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्