गहनाको लोभमा आफ्नै सासूको हत्या गर्ने दुई बुहारी पक्राउ



न्युज अफ नेपाल, गुल्मी ।

गुल्मीको इस्मा गाउँपालिका ३ सिमपानीमा आफ्नै सासूको हत्या गर्ने दुईजना बुहारी पक्राउ परेका छन् ।

७६ वर्षीया कौशीला बिकको हत्या गरेका दुई बुहारी देवी र लक्ष्मीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुले सुनका गहना लुट्ने योजनामा सासूको हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई बुहारीले गत पुस १७ गते गोरु फुकेको बहानामा कौशिलालाई गोठमा बोलाएर चिरपट प्रहार गरी बेहोस बनाएर उनले लगाएका गहना लुटेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । चिरपट प्रहारबाट घाइते भएकी कौशीलालाई गोरुले हानेका बहाना बनाई उपचारका लागि गुल्मी अस्पताल पुर्‍‍याएका थिए ।

थप उपचारका लागी बुटल प्रादेशिक अस्पताल पुर्याइएकी कौशीलाको १९ गते मृत्यु भयो । कौशीलाको घाउको अवस्था हेर्दा शंका लागेपछि प्रहरीले थप अनुसन्धान अघि बटाएको थियो । उक्त अनुसन्धानबाट दुई बुहारी मिलेर सासूको हत्या गरेको खुलेको हो । हत्यारा बुहारीका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।

सो घटना हुँदा मृतक कौशीलाका श्रीमान् मासु लिन गएका थिए ।

पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्