समावेशी र मातृभाषा पत्रकारिताको व्यावसायिकताको लागि कार्ययोजना



न्युज अफ नेपाल, काठमाडौं ।
नेवाः पत्रकार राष्ट्रिय दबूले प्रेस स्वतन्त्रताको रक्षा गर्दै समावेशी सञ्चार र मातृभाषाको पत्रकारिता विकास गर्ने नीति, योजना र कार्यक्रम अघि सारेको छ ।
पत्रकार राष्ट्रिय दबूको चितवन शाखाको संयोजनमा भएको केन्द्रीय कमिटीको चितवनमा भएको पहिलो बैठकले सो नीति र योजना अघि सारेको हो । पुस १८, १९ र २० गते भएको बैठकमा अध्यक्ष सुरजवीर बज्राचार्यले पेश गर्नुभएको कार्ययोजनामा विस्तृत छलफल गरी पारित गरेको थियो ।
पूर्ण प्रेस स्वतन्त्रताको रक्षा र नेपाली पत्रकारिताको दायरा विस्तारको लागि समावेशी सञ्चार अवधारणालाई कार्ययोजनाको मुख्य केन्द्रबिन्दुमा राखिएको छ । सो कार्ययोजनामा नेपालको संविधानको भावना अनुरुप नेपाल समाजको विविधता प्रतिविम्बि हुने समावेशी सञ्चार सम्बन्धी बहस, छलफल अघि बढाउने भनिएको छ ।
त्यसैगरी नेपालमा बोलिने प्रत्येक भाषा राष्ट्रभाषा भएको संवैधानिक मर्म अनुरुप मातृभाषाको पत्रकारिताको व्यावसायिकताको लागि मातृभाषा पत्रकारिता दिवस र मातृभाषा पत्रकारिता सम्मेलन गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।
पत्रकार राष्ट्रिय दबूले आफ्नो कार्ययोजना कार्यान्वयनका साथै प्रेस तथा र अभिव्यक्ति स्वतन्त्रता विरुद्धको संघर्षमा नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ र अन्य पत्रकार सम्बद्ध संघसंस्था सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी गराउनुभयो ।
बैठकले वरिष्ठ पत्रकार दानदास श्रेष्ठ, युवराज श्रेष्ठ लमजुङ र राजिप राजोपाध्यायलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । त्यसैगरी गोरखापत्रका पूर्व प्रधान सम्पादक पुष्करभक्त माथेमा, राससका पूर्वप्रधानसम्पादक राजु शाक्य ,नेपाल भाषा टाइम्सका सम्पादक सुरेशकिरण मानन्धर, राजेन्द्र स्थापित, रमेशकाजी स्थापित, सुजीव बज्रचार्य, नरेशवीर शाक्य र ईश्वर जोशीलाई सल्लाहकारमा नियुक्ति गरिएको छ । सोही बैठकले पत्रकारिता आचारसंहिताको पालनालाई जोड दिँदै कार्यविधि, सचिवालय गठन सम्बन्धी निर्णय गरेको छ ।
बैठकपछि चित्तवनका प्रबुद्ध नागरिक, व्यवसायी, समाजसेवी, जनप्रतिनिधि, नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, थारु पत्रकार संघ, नेपाल प्रेस युनियन लागयत विभिन्न पत्रकार संगठनका प्रतिनिधिसंग अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्