न्युज अफ नेपाल, काठमाडौं ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पूरा गर्ने बाटोमा मुलुक अग्रसर भएको बताउनु भएके छ । बुधबार दशरथ रंगशालामा आयोजित ‘भिजिट नेपाल २०२०’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सन् ‘२०२०’लाई प्रस्थानबिन्दुका रुपमा मान्ने उल्लेख गर्दै भन्नुभयो– ‘२०२०’ ले पर्यटनका लागि राष्ट्रिय मनोविज्ञान तयार पार्नेछ। यसबाट पर्यटनको नयाँ क्षितिज उदाउनेछ।’
भ्रमण वर्ष २०२० को औपचारिक समारोहलाई सम्बोधन गर्दै पर्यटनमन्त्री भट्टराईले नेपाल घुमेर जिन्दगी रोमाञ्चक बनाउन विश्वभरका नागरिकलाई आग्रह गर्नुभएको छ ।
विश्वमा कतै नभएका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा नेपालमा भएको भन्दै यहाँ घुमेर जिन्दगीभर सम्झनेगरी अद्भुत अनुभव लिन आह्वान गर्नुभयो ।
उहाँले नेपालमा दिगो शान्ति स्थापना हुने वातावरण बनेको र लगानीको लागि उत्तम गन्तव्य बन्दै गएको भन्दै नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभयो ।
गौतम बुद्ध र सगरमाथाको देशमा पर्यटनको क्षेत्रमा परिवर्तन भैरहेकाले यहाँ लगानी गरेमा प्रतिफलको चिन्ता नहुने पनि उहाँले बताउनुभयो ।











प्रतिक्रिया