सरोज यादव, विराटनगर ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका वरिष्ठ नेताहरूकै मागअनुसार महाधिवेशनको मिति तोकेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै देउवाले पौडेल समूहतर्फ लक्षित गर्दै भन्नुभयो, “उहाँहरूकै मागअनुसार मैले केन्द्रीय समितिको बैठकबाट बहुमतबाट महाधिवेशन मिति तोकेको हुँ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सहमतिका नाममा पार्टीलाई बन्धक बनाउन नसकिने प्रस्ट पार्नुभयो । सहमतिका लागि आफूले हदैसम्मको लचकता अपनाएको उहाँको कथन थियो ।
“बैठकमा पनि नआउने अनि उहाँहरूकै मागअनुसार महाधिवेशनको मिति तोक्दा किन आपत्ति ?” प्रश्न गर्दै देउवाले भने, “अब महाधिवेशन तोकिएकै मितिमा हुन्छ ।” वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सहमतिका आधारमा निर्णय हुने कांग्रेसको संस्कार देउवाले मिचेको आरोप लगाउँदै महाधिवेशनको कार्यतालिका संशोधन हुनुपर्ने माग राख्दै आएको छ । कुनै पनि हालतमा महाधिवेशनको कार्यतालिका परिवर्तन नहुने देउवाले जिकिर गर्नुभयो ।
देउवाले आफ्नो कार्यकालमा यति समूहलाई नेपाल ट्रष्टको जग्गा दिएको भनेर झुठो आरोप लगाएको दाबी गर्नुभयो । देउवाले आफूले कालीमाटी र नारायणहिटी अगाडिको जग्गा यति समूहलाई दिएको भए प्रमाण ल्याउन चुनौती दिनुभयो । आफ्नो कार्यकालमा कसले कहाँ के–के निर्णय गर्छन् सबै थाहा नहुने भन्दै उहाँले आफूले त्यसबारे कुनै पनि हस्ताक्षर वा निर्णय नगरेको उल्लेख गर्नुभयो ।
सभापति देउवाले इन्डो प्यासिफिककै अंग भए पनि एमसीसीलाई संसदबाट पास गरेर जानुपर्ने बताउनुभयो । धेरै ठूलोे मात्रामा पैसा नेपाल आउने भएका कारण पनि नेकपाले उक्त एमसीसीलाई संसदबाट पास गर्छ भन्ने आफूलाई विश्वास रहेको देउवाको भनाइ थियो । “त्यति ठूलो अनुदान पहिलोपटक आउन लागेकाले त्यसलाई पारित गर्दा नेपाललाई धेरै फाइदा हुन्छ,” देउवाले भन्नुभयो ।











प्रतिक्रिया