न्युज अफ नेपाल, भक्तपुर ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जुनसुकै अपराधिक घट्नामा पनि अपराधीलाई जोगाउन दबाब र प्रभावमा परेको पाइए कारबाही गरिने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि संकलित घट्नाको वार्षिक पूर्व समिक्षा कार्यक्रममा बोल्दै उहाँले प्रहरीलाई पनि कुनै दबाब र प्रभावमा नपर्न निर्देशन दिनुभयो ।
उहाँले अपराधीलाई जोगाउन जस्तो सुकै ठाउँबाट दबाब र प्रभाव आएपनि नछाडिने र दोषाीलाई कारबाही गरेरै छाड्ने भनाई राख्नुभयो । उहाँले मध्यराती सडकमा एउटी महिला निर्धक्कले हिड्नसक्ने अबस्था आएपछि मात्रै शान्तिसुरक्षा भयो भन्न सकिने बताउदै यौन हिंसा र बलात्कारका लुकेका घट्ना बाहिर आउन थालेकाले धेरै देखिएको बताउनुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले अपराधका नयाँ नयाँ प्रकृतिहरु बाहिर आएको बताउदै अपराधलाई शून्यमा झार्न निकै मुश्किल हुने बताउनुभयो । उहाँले घट्ना लुकेर कम देखिनु भन्दा बाहिर आएर बढी देखिनु उपयुक्त भएको बताउदै अझै पनि ४० प्रतिशत घट्नाहरु लुकेर बसेकाले त्यस्ता घट्नालाई बाहिर ल्याई दोषीलाई कारबाहीको दायरामा ल्याउन समुदायले सहयोग गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरलाई अपराध मुक्त बनाउने समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई समुदाय, विद्यालयसम्म लगेको बताउदै प्रभावकारी ढंगले सबै लागे अपराध न्यून गर्न सम्भव हुने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले भक्तपुर सानो जिल्ला भएकाले अपराधलाई न्यून गर्न अभियान नै संचालन गर्नु पर्ने बताउनुभयो । अझै पनि भक्तपुरमा हामी सुरक्षित छौ भन्ने अबस्था नरहेको बताउदै उहाँले भक्तपुरलाई अपराध गर्न र अपराधी लुक्ने सुरक्षित ठाउँको रुपमा प्रयोग गर्ने खतरा रहेकाले सजग रहनु पर्ने बताउनुभयो ।
कार्यक्रममा इन्सेक भक्तपुर प्रतिनिधी रमेश गिरीले भक्तपुर जिल्लामा २०१९ जनवारीदेखि डिसेम्बर ३० सम्म एकवर्षको अवधिमा मानव अधिकार हनन र ज्यादतीका घट्नाको विवरण प्रस्तुत गरेका थिए । इन्सेकका अनुसार भक्तपुरमा हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका २ सय ५४ घटना भएको छ ।
सन् २०१९ को एकवर्षको अबधभीमा भक्तपुरमा गैरराज्य पक्षको परिवारजनबाट १ र अन्य दुई गरि ३ जनाको हत्या भएको तथ्यांक सार्वजनिक गरेको छ । त्यस्तै बलात्कारबाट ३३ जना पीडित भएका छन् भने बलात्कार प्रयास घटनामा ३ जना महिला र बाल यौन दुव्र्यबहारमा २ जना बालिका पीडित भएका तथ्यांक सार्वजनिक गरिएको छ ।
त्यस्तै बहुविवाहको घट्नामा १३ महिला पीडित भएका छन् भने मानव बेचबिखनका घट्नामा १ जना पीडित भएको, घरेलु हिंसामा १सय ९० जना पीडित भएका छन् । राज्यपक्षबाट ९ जना विप्लव माओवादीका नेता तथा कार्यकर्ता पक्राऊ परेका छन् । सन् २०१८ मा हत्या, कुटपिट, बलात्कार, बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र मानव बेचबिखन लगायतका कूल २ सय ५२ वटा घटना घटेको थियो ।











प्रतिक्रिया