नेपालमण्डल वा नेवाः ताम्सालिङ राख्न माग

94
Shares

काठमाडौं, (नेस)।

प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको निर्णयप्रति जनस्तरबाट विरोध हुन थालेको छ।

सो निर्णयलगत्तै सत्तारूढ दलका प्रदेश सांसदहरूले असन्तुष्टि जनाउँदै आएको अवस्थामा अहिले जनस्तरबाट विरोध शुरू भएको हो।

निर्णयको विरोधमा मंगलबार कोणसभाको आयोजना गरियो।नेपाः युथ अर्गनाइजेसन, नेवाः राजनीतिक अभियान, सेभ नेपाः भ्याली, नेपाः राष्ट्रिय परिषद्, नेपाल सांस्कृतिक पुनर्जागरण अभियानलगायत संघ–संस्था मिलेर सो सभा आयोजना गरिएको थियो।

सभाका वक्ताले सो निर्णयका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनीहरूले प्रदेश नं ३ को नाउँ नेपालमण्डल वा नेवाः ताम्सालिङ राख्नुपर्ने माग गरेका छन्।यसैबीच राजधानीमा मंगलबार भएको एक भेलाले सो निर्णयको विरोध गरेको छ।

सो भेलाले ३ नम्बर प्रदेशको नाउँ बाग्मती प्रदेश र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय अधिनायकवादी, असंवैधानिक व अप्रजातान्त्रिक भएको भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरेको हो।

राजधानीको क्षेत्रपाटीमा भएको सो भेलामा अभियन्ता मल्ल के सुन्दर, डा. महेशमान श्रेष्ठलगायत र विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

उक्त भेलाबाट जारी वक्तव्यमा भनिएको छ– ‘प्रदेशको नाउँ यस प्रदेशभित्र विकसित ऐतिहासिक सभ्यताको आधारमा नेवाः–ताम्सालिङ प्रदेश, नेपालमण्डल प्रदेशलगायत नामकरण गर्नुपर्दछ।’

भेलाले बाग्मती प्रदेश नामांकनविरुद्ध आन्दोलन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मुख्यमन्त्रीहरूलाई भेटेर धारणा बनाउने निर्णय गरेको छ।

यसैबीच यसै विषयलाई लिएर विभिन्न संघसंस्थासहित आदिवासी जनजाति महासंघले आन्दोलन गर्ने तयारी गरिरहेका छन्। अभियन्ता मल्लके सुन्दरले नेकपाको निर्णय गैरसंवैधानिक र संघीयताविरोधी भएको आरोप लगाउँदै प्रदेशको नाम बागमती राख्न नसकिने बताउनुभयो।

नेवाः आन्दोलनका अगुवा डा. महेशमान श्रेष्ठले राष्ट्रिय एकताका लागि सबै जाति, भाषा, धर्म र संस्कृतिलाई मूलधारमा ल्याउन संघीयता आएकाले प्रदेश नम्बर ३ को नेवा ताम्सालिङ राख्नुपर्ने बताउनुभयो।

नेपाल तामाङ घेदुुङले पनि विज्ञप्ति जारी गरी प्रदेश नं ३ को नाम फेर्नुपर्ने अडान लिएको छ।आइतबार बसेको नेकपाको सचिवालय बैठकले प्रदेश नम्बर ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णय गर्न प्रदेशसभालाई निर्देशन दिएको थियो।