भरतलाल तथा पुष्करलालका नाममा ‘अवार्ड’ घोषणा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

सुप्रसिद्ध समाजसेवी तथा व्यवसायी स्व. भरतलाल श्रेष्ठ र बहुचर्चित पत्रकार तथा सञ्चार उद्यमी स्व. पुष्करलाल श्रेष्ठको नाममा कामना न्यूज पब्लिकेसन्स् प्रालिले सम्मान अवार्ड स्थापना गरेको छ।

सो अवार्ड यही पुस १९ गते सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा राजधानीमा हुने गोदरेज नम्बर वान कामना फिल्म अवार्डस्–२०७६ समारोहमा प्रदान गरिनेछ।

भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा पुष्करलाल मिडिया अवार्ड क्रमशः समाज सेवा र नेपाली मिडियाका क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरूलाई प्रदान गरिनेछ।

भरतलाल श्रेष्ठ तथा पुष्करलाल श्रेष्ठ नाताले पिता–पुत्र हुनुहुन्छ। लायन्स क्लबलगायतका समाजसेवी संस्थामा रहेर आजीवन सेवा पुर्याएका भरतलाल २०७२ सालमा दिवंगत हुनुभयो भने कामना न्यूज पब्लिकेसन्स्का संस्थापक तथा मिडिया उद्यमी एवं सिर्जनशील पत्रकार पुष्करलाल श्रेष्ठको ६१ वर्षको अल्पायुमै गत वैशाख ४ गते निधन भयो।

भरतलाल पहिलो नेपाली फिल्म अवार्डका प्रणेता तथा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर हुनुहुन्थ्यो भने पुष्करलाल निजी क्षेत्रमा प्रकाशन गृह तथा मिडिया समूह सञ्चालन गरेर खास गरी छापा माध्यममा अपूर्व योगदान दिँदै चलचित्र र मनोरञ्जनको विधामा पत्रकारिताको थालनी गर्ने व्यक्तित्व, जसले नेपालमा २०४१ सालमै यस कार्यको प्रारम्भ गर्नुभएको थियो।

भरतलाल ह्युम्यानिटेरियन अवार्ड पाउनेहरूमा समाज सेवामा निरन्तर लागिरहेका एवं मानवीय कार्यमा समर्पित व्यक्तित्व हुनेछन्।

त्यसै गरी पुष्करलाल मिडिया अवार्डका हकदारहरूमा नेपाली मिडिया क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका तथा नेपाली सञ्चार क्षेत्रमा स्वदेशी पुँजी, श्रम र सोचको सम्मान र प्रवद्र्धन गर्दै यस क्षेत्रमा विशिष्ट योगदान दिएका मिडियाकर्मी हुनेछन्।

मिडियाकर्मीभित्र सञ्चार उद्यमी तथा प्रकाशन, प्रसारण, अनलाइन, फोटो पत्रकारिता, व्यंग्यचित्र कलाकारितालगायतका विधामा समर्पित पत्रकारलाई समेटिनेछ।

दुवै स्मृति अवार्डका लागि प्रशंसायुक्त ताम्रपत्रका साथ एक–एक लाख रुपियाँ प्रदान गरिने तथा अवार्ड पाउने व्यक्तित्वको नाम सम्मान समारोहमै घोषणा गरिने कामना न्यूज पब्लिकेसन्स्का प्रेसिडेन्ट तथा सीईओ दिरेकलाल श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ।