सप्तरी ।
करिब दुई वर्षअघि नै खुला दिसामुक्त घोषणा भइरहेको सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ । दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय छैन । करिब २७ घरधुरीमा १०० जनाको बसोबास रहेको उक्त बस्तीमा शौचालय नहुँदा स्थानीय बस्ती नजिकैको खोलाको खोल्साखोल्सी र बाँसघारीमा गएर खुलारूपमा दिसापिसाब गर्दै आएका छन् ।
शम्भुनाथ नगरपालिकाको सबै वडाको घर घरमा शौचालय बनिसकेको भन्दै २०७५ सालमै सो वडालाई खुल्ला दिसामुक्त घोषणा गरिएको थियो तर त्यही वडाको सिङ्गो दलित बस्तीमा अझै शौचालय बन्न सकेको छैन । उक्त बस्ती नजिकै रहेको चौधरी, साहलगायत जातिको बस्तीमा शौचालय बनिसके पनि छेउमै रहेको मुसहर जातिको बसोबास रहेको दलित बस्ती भन्ने शौचालयविहीन रहेको स्थानीय सञ्जय चौधरीले बताउनुभयो ।
उहाँले आफूले शौचालय निर्माणको लागि पटक पटक आग्रह गर्दा पनि कसैले त्यसप्रति चासो नदेखाएको बताउनुभयो । आर्थिक आभावभन्दा पनि सरकारले नै शौचालय बनाई दिन्छ कि भन्ने सोचका कारण त्यहाँका स्थानीयवासी शौचालय बनाउन नचाहेको गुनासो सुनाउँदै उहाँले भन्नुभयो, “यस बस्तीका अधिकांश युवा मजदूरी गर्छन्, कतिपय युवा छिमेकी भारतको विभिन्न शहरमा रोजगारी गर्ने गरेका छन्, तर शौचालय बनाउन चाहँदैन ।” घरमा शौचालय निर्माण गर्न खर्च किन गर्ने ? भन्ने सोचले त्यस बस्तीमा बढी प्रभाव पारेको छ, शम्भुनाथ नगरपालिका–५ का वडाध्यक्ष हीरणप्रसाद चौधरीले भन्नुभयो, “त्यसैले त्यस बस्तीका बासिन्दाको सोच परिवर्तन गर्न र शौचालय बनाउन उहाँहरुलाई दबाबमूलक कार्यक्रम गर्ने तयारी गरिरहेका छौँ ।”
त्यस बस्तीमा अन्य स्थानभन्दा बढी जनचेतनामूलक र सरसफाइसम्बन्धी कार्यक्रम दिए पनि त्यहाँका बासिन्दाले सुनेको पनि नसुनेझैँ गरिरहेकाले शौचालय बनाउन दबाब दिने उहाँको भनाइ छ । शौचालय बनाउन स्थानीय तहले प्यान, सिट र रिङलगायतका सामग्री थुपारेर राखे पनि शौचालय निर्माण गर्न आलटाल गरिरहेका छन् । कतिपयले शौचालय बनाउने जग्गा नभएर नबनाएका हुन भने कतिपयले सरकारले नै शौचालय बनाइदिन्छ कि भन्ने सोच राखेकाले नबनाएको वडाध्यक्ष चौधरीले बताउनुभयो । अब पनि शौचालय नबनाउनेलाई कुनै किसिमको सिफारिस नदिने र सुविधा पनि कटौती गर्ने उहाँको भनाइ छ । रासस










प्रतिक्रिया