बालबालिकाको शिक्षामा उपेक्षा



बालबालिका त्यो अवस्थासम्म मानिन्छ जुन अवस्थासम्म उनीहरूलाई बाबुआमाको आवश्यकता महसुस हुन्छ। २० वर्षका ठिटाठिटीलाई बालबालिका भन्न मिल्दैन। जबसम्म शारीरिक, मानसिकरूपमा बालबालिका पराश्रित हुन्छन्, त्यो उमेर समूहका मानिसलाई बालबालिका मान्नुपर्ने हुन्छ।

कति उमेरका मानिसलाई बालबालिका मान्ने भन्ने कुरामा विश्वका मुलुकमा आफ्नै मापदण्डहरू बनाइएका छन्। धनी मुलुकहरूले जबसम्म कुनै मानिस आत्मनिर्भर हुँदैन तबसम्मको उमेरलाई बालबालिका मान्ने गरेका छन्। गरिब तथा विकासोन्मुख देशहरूले १४ वर्षको उमेरदेखि वयष्क हुने मान्यता राख्छन्।

हाम्रो समाज वर्गीय समाज हो। यस्तो समाजमा श्रमजीवी परिवारका बालबालिकालाई सानैदेखि काममा जोतिनुपर्ने बाध्यता छ। सम्पन्नशाली परिवारका बालबालिकाले श्रम गर्नु त परै जाओस् स्कुलमा लैजाने किताब–कापी पनि आफूले उचाल्नुपर्दैन। महँगा विद्यालय, कलेजमा पढाइन्छ।

पढाइमा रोचकताको उच्च मूल्याङ्कन गरिन्छ।पुरस्कार बाँडिन्छ। विद्यार्थीलाई उच्च प्रोत्साहन गरिन्छ। पढ्ने वातावरण पूर्णरूपमा मिलाइन्छ। यही फरक हुन्छ वर्गीय समाजमा। 

नेपालको सन्दर्भमा कुरा गर्दा यहाँ पाँच प्रतिशत मानिस धनाढ्य वर्गमा पर्छन्। उनीहरूको रहनसहन बेग्लै प्रकारको हुन्छ। आम्दानी प्रशस्त भएकोले घरमा काम गर्नको लागि नोकरचाकर राखेका हुन्छन्।

त्यसरी नोकरचाकरको रूपमा काम गर्नको लागि अति निम्न पुँजी भएका, सर्वहारा वर्ग नै खटिएका हुन्छन्। यसमा साना उमेरका बालबालिका पनि जोतिनुपर्छ। यसरी काममा जोतिँदा उनीहरूलाई पढ्ने मौका मिल्दैन। पढ्न नपाएपछि राम्रो आम्दानी हुने जागिर खान पाउँदैनन्। उच्च ओहदामा पुग्न पाउँदैनन्।

नेपालमा वर्तमान अवस्थाको कुरा गर्दा ३० प्रतिशत मध्यम पुँजीपतिहरू छन्। उनीहरूलाई सामान्य जीवनयापन गर्नको लागि खासै समस्या हुँदैन। बाँकी ६५ प्रतिशत जनताको बस्ने बास र खाने गाँस छैन, जीउ ढाक्ने कपास छैन। सबैतिर दयनीय अवस्था छ।

कतै सुकुम्बासी बनेका छन्। कतै खोला, नदीका बगरमा छाप्रो हालेर बस्न बाध्य छन्। यी वर्गका मानिसका बालबालिकाको अवस्था अत्यन्तै दयनीय छ। बाबुआमा बिहानै उठेर काममा जानुपर्छ। अमाबुबासँगै गिटी कुट्ने बालबालिका अझै धेरै छन्।

बालबालिकाले घरमा आइपर्ने काममा हात लगाउनुपर्छ। विद्यालयमा पढ्न जाने समय निकाल्न पाउँदैनन्। गाउँमा रहेका बालबालिकाले दिनभरि गाईबाख्रा चराउन जानुपर्छ। तर अमेरिकामा सरकारी विद्यालयमा पढ्न जाने बालबालिकालाई विद्यालयले नै बिहान खाना खान दिन्छ, दिउँसो नास्ता दिन्छ।

त्यसैले बालबालिकाले खान पाएनन् भनेर अभिभावकले कुनै चिन्ता लिनुपर्दैन। स्कुलले नै किताब, कापी, झोला, डे«सको व्यवस्था मिलाइदिएको छ।

तर नेपालमा शिक्षालाई यति उपेक्षा गरिएको छ कि बालबालिकाले पढून् या नपढून्, कुनै सरोकार हुँदैन। विद्यालयमा विद्यार्थीलाई खाना खाने व्यवस्था मिलाइदिने हो भने मात्र पनि बालबालिका शिक्षा प्राप्त गर्नबाट वञ्चित हुनुपर्ने थिएन।

– सर्मिला ढुंगाना, अम्मरसिंह, पोखरा।

प्रतिक्रिया दिनुहोस्