नेता र कर्मचारीका कुरा



नेपालको कर्मचारीतन्त्रको अवस्था कहिल्यै नसुध्रिने। अहिले उनीहरूले कमाएको ख्याती वर्तमान राजनीतिक दल र नेताहरूको कर्मको स्वाभाविक नतिजा हो भन्दा फरक नपर्ला।

प्रतिभाशाली परीक्षित कर्मचारी कच्चा पदार्थका रूपमा सरकारी सेवा प्रवेश गरेका हुन्छन्। तिनलाई उपयुक्त, सीपयुक्त, इमानदार, सक्षम, समयानुकूल प्रशिक्षित गर्दै सरकारले बनाउँदै लाने हो।

अनुकूल संस्थागत परिवेश र व्यवस्था सरकारले मिलाउँदै लैजाने हो। उसलाई जोत्न खेत तथा हलो र उत्पादित वस्तु राख्न भकारी सरकारले प्रबन्ध गरिदिने हो। कुनै पनि सरकार भनेको जनताबीच गएर सेवा प्रवाह गर्ने एउटा साधन भन्दा पनि फरक नपर्ला। कर्मचारी निकम्मा बनाउने वा काम लाग्ने बनाउने भन्ने जिम्मा सरकारको हो।

त्यसैले मेरो बुझाइमा त कर्मचारी हैन, सरकार सफल या निकम्मा हुन्छ। निकम्मा कर्मचारी नहुँदा हुन् त नेताहरूले के नारा दिएर आफ्नो राजनीतिक खेतीपाती गर्न सक्थे होलान् र ?

अहिले यसरी ठीक कर्मचारीतन्त्र या बेठीक कर्मचारी भनेर तुल्याइएको कर्मचारीतन्त्रका निम्ति न संस्थागत घर छ, न भएका कथित घरको छाना छ।

न गन्तव्यको यात्राका निम्ति गाडी छ, न बास, न कार्यालय नै छ। भए जतिको छाना, ढोका, झ्याल उप्काएर नांगो नाचेपछि असुरक्षित तथा निरीह बनेका बेसहारा मानसिकताका हालका कर्मचारी निकम्मा देख्नु स्वाभाविक हुन्छ नै।तर, मेरो बुझाइमा चाहिँ निकम्मा भनेका त नेताहरू हुन्।

तर तिनै निकम्मा नेताहरू कर्मचारीलाई निकम्मा भन्दै छन्। यो कस्तो खेल हो। कसलाई मार्न खोजिएको हो ? कसलाई मर भनिएको हो ? बुझ्नै गाह्रो छ। नेता भनेको मुलुकको सबै जिम्मा लिने, जवाफदेही हुने पद हो। त्यस कुर्सीमा बसिसकेपछि हरनागरिकप्रति जवाफदेही बन्नै पर्छ। जवाफदेहीको जिम्मा लिन नपर्ने पदको गाडी त जसले पनि हुइँक्याइहाल्छन् नि।

अगर यस्तो नहुने हो भने संस्कार, संस्कृति, संस्था, समझदारी, सकारात्मकता र सरकार बिग्रेको देशमा समृद्धि सम्भव कदापि हुँदैन। जसरी प्रविधिको भविष्यवाणी गर्नेहरू छन् राजनीतिमा पनि भविष्यवाणी गर्नेहरू उल्लु बन्छन्।

राजनीति सतरंजको खेलजस्तै हो। दर्शक, समर्थक कोही ताली पिट्लान्, कोही छाती पिटी–पिटी रोलान् तर राजनीति खेलको रूपमा अगाडि बढ्दै गइरहेको हुन्छ।

चेसको खेलमा भविष्यवाणी गर्नु मूर्खता हो। जे हुनुपर्छ त्यो त्यही बेला हुन्छ वा गरिन्छ। भ्रष्टाचारप्रति शून्य सहनशीलता, दण्डहीनतामा नियन्त्रण र कानुनको शासन भयो भने मुलुक दिन दुई गुणा, रात चौगुणा विकास हुनेछ। नयाँ सरकारको यसमा कमिटमेन्ट के–कति हुन्छ, त्यसले मुलुकको भाग्य कोर्ने हो।

तर विगत दुई वर्ष निराशाजनक देखिएको छ। स्थानीय सरकारहरू अनियन्त्रित अनियमितताको बन डढेलोमा पसिसकेका देखिन्छन्।
ब्लड प्रेसर र सुगर नियन्त्रण भएन भने शरीरलाई स–साना रोगले पनि कमजोर पारिदिन्छ। वाक्कदिक्क र ओछ्यानमा लमतन्न हुन बाध्य पार्छ। अनि न विकास, न समृद्धि।

बरू सत्ता र सत्ताधारी नेताको अवकाश वा बनवास सुनिश्चित हुने गर्छ। त्यसैले नेता सफल र कर्मचारी असफल हुँदैन। नेता भनेकै मुलुकको सबै जिम्मेवारी लिनुपर्ने पक्ष हो। कर्मचारीलाई काम लगाउने र कर्मचारीलाई खुशी बनाउने उनीहरूको जिम्मेवारीभित्रको काम हो।

– बबिता, मगर,
पुरानो बानेश्वर, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्