स्विस नागरिक जेएफ मेस्सीको ‘किवी कोसेली’



चिरञ्जीवी मास्के, दोलखा।

जेएफ मेस्सी स्वीस नागरिक हुन्। लामोसाँगु जिरी सडक निर्माणको क्रममा इन्जिनियरको रूपमा दोलखा आएका मेस्सीले २०४३ सालतिर आफू बसेको चरिकोटको एउटा घरमा अनौठो फल रोपेका थिए।

श्याम खड्काको चरिकोट सिमपानीको घरमा रोपिएको उक्त फल के हो ? त्यसको उपयोगिता के को लागि गरिन्छ भनेर न मेस्सीले जानेबेला कसैलाई भने, न कसैले उनीसँग त्यसबारे चासो नै दिए। २०५० सालतिर कसैले त्यो खान मिल्ने बताएपछि आफूलगायत केहीले झुसे फलको रूपमा त्यसलाई खाएको स्मरण छ मेस्सीका घरबेटी श्याम खड्कालाई।

२०५८/०५९ तिर स्वीस परियोजनामै कामगर्ने खगेन्द्र सिग्देलले बेलायततिर उक्त फलको निक्कै महत्व रहेको बताएको र त्यसंैताका नेपाल स्वीस सामुदायिक वन परियोजनामा काम गर्ने स्वीस नागरिक पेट्रिक रविनसनले झुसे फल भनिएको उक्त स्वादिलो फलको नाम किवी भएको बताएपछि किवीको चर्चा र महत्व बढेको खड्का बताउनुहुन्छ।

किवीको पहिचान पछि श्याम खड्काले मेस्सीले रोपेको बिरुवामा फलेको ५२ किलो उक्त फल पहिलो पटक काठमाडौंको कालिमाटीमा लगेर १० हजारमा बिक्री गरेका थिए। दोलखामै पहिलो पटक पहिचान भै व्यवसायिक उत्पादन शुरु गरिएको किवी फलको खेती अहिले देशको विभिन्न पहाडी तथा हिमाली जिल्लामा समेत विस्तार भएको छ।

दोलखा जिल्लामा केही वर्षदेखि किवी फलको उत्पादन तथा बिक्री वितरण राम्रोसँग भै रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दोलखाका वरिष्ठ कृषि अधिकृत मोहनप्रसाद खतिवडा बताउनुहुन्छ। यो वर्ष दोलखा जिल्लाबाट किवी फल चार करोड भन्दा बढीको बिक्री वितरण हुने अनुमान गरिएको खतिवडाले बताउनुभयो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय मातहत रहेको दोलखाको ६ वटा स्थानीय तहका २२ वटा वडामा ४७ हेक्टर जमिनमा लगाइएको किवी बिक्रीबाट मात्र तीन करोड भन्दा बढी आम्दानी हुने अनुमान गरिएको खतिवडाले बताउनुभयो।

नेपालमै पहिलो पटक किवि फलको पहिचान र व्यवसायिक खेती गरेका श्याम खड्काले केही वर्षदेखि किवीको फल र बिरुवा बिक्री गरेर वार्षिक १० लाख भन्दा बढी आम्दानी गर्दै आउनु भएको छ। ‘यो वर्ष पनि बिरुवा र फल बिक्री गरेर कम्तिमा १० लाख आम्दानी हुने अनुमान गरेको छु, उहाँले भन्नुभयो।

भीमेश्वर नगरपालिका–८ बोचमा रहेको तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिले पनि किवीको बेर्ना(बिरुवा) उत्पादन र फल बिक्रीलाई प्राथामिकताका साथ शुरु गरेको छ। गत वर्ष तिलोत्तमा हिमाली फूड प्रोडक्सनले झण्डै आठ लाखको किवीको बेर्ना बिक्री गरेको किवी जोन दोलखाका संयोजक एवं तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिका व्यवस्थापक उषा थापाले बताउनुभयो।

यो वर्ष फल र बेर्ना अझ बढी बिक्री गर्ने लक्ष्य रहेको थापाले जानकारी दिनुभयो। बोचमै रहेको कृषि फार्ममा हरेक वर्ष किवी खेती सम्बन्धी तालिम हुने गरेको छ। जहाँ देशभरका कृषकहरू किवी खेती सम्बन्धी तालिम लिन आउने गरेका छन्।

स्वीस नागरिक मेस्सीले कोसेलीको रूपमा छोडेको किवी फल अहिले दोलखा आउने पर्यटकहरूले कोसेलीकै रूपमा लाने गरेको व्यवसायि खड्काले बताउनुभयो। विशिष्ठ श्रेणीका कर्मचारी, ठूला व्यवसायि, राजनीतिज्ञ सबैले किवी फल दोलखाको उपहारको रूपमा लाने गरेको उहाँको भनाई छ। जिल्लामा उत्पादित किवीको आधा बजार दोलखानै भएको र आधा काठमाडौं जाने गरेको चरिकोटका व्यापारी चित्र दाहालले बताउनुभयो।

किवी फललाई तीन ग्रेडमा विभाजन गरेको पाइन्छ। सय ग्रामभन्दा बढीको किवी ‘ए’ ग्रेड, ७० ग्रामसम्मको किवी ‘बि’ ग्रेड र ६० ग्रामभन्दा कम तौलको किवी ‘सि’ ग्रेडमा विभाजन गरिएको वरिष्ठ कृषि विकास अधिकृत खतिवडाले बताउनुभयो। दोलखामा मोन्टी, एलिसन, हेर्वाड जातका किवी उत्पादन हुने गरेको खतिवडाले जानकारी दिनुभयो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दोलखाले किवी फलको प्रवद्धनको लागि स्वास्थ्यकर्मीसँग यसका फाइदाको विषयमा छलफल गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने महिलाहरूलाई किवी फल दिनेलगायतका कार्यक्रमको बारेमा परामर्श गरिरहेको पनि वरिष्ठ कृषि अधिकृत खतिवडा बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्