झापा जाँदै पूर्वराजा


काठमाडौं, (नेस)।

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमाञ्चल क्षेत्रको भ्रमणबाट फर्कनुभएको करिब तीन सातापछि पूर्वाञ्चल भ्रमणमा निस्कन लाग्नुभएको छ। उहाँ पूर्वरानी कोमल र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि २ गते झापा जान लाग्नुभएको हो।

करिब एक महिना लामो बसाइका निम्ति झापा जान लाग्नुभएका ज्ञानेन्द्रले विभिन्न मठ–मन्दिरमा दर्शन र पूजाआजा गर्ने कार्यक्रम रहेको छ। ११ बजे बुद्ध एयरको जहाजबाट भद्रपुर जाने कार्यक्रम रहेको छ। सुरक्षा बन्दोबस्तीका लागि उहाँका अंगरक्षक सशस्त्र प्रहरीका डीएसपी राजन गुरागाईंसहितको टोेली झापा पुगिसकेको छ।

करिब २५ जनाको कन्भे टोली आइतबार झापा पुगिसकेको छ। आफ्नो स्वामित्वमा रहेको हिमालय टि स्टेटमा बस्ने गरी पूर्वाञ्चल भ्रमणमा निस्कन लाग्नुभएका ज्ञानेन्द्रले त्यहाँ राप्रपाका उच्च तहका नेतालाई समेत भेट्ने कार्यक्रम रहेको छ।

स्रोतका अनुसार उहाँको भ्रमण सफल पार्न राजधानीबाट समेत केही टोली झापा जाने भएको छ। उहाँले विभिन्न दर्जाका नेता, पूर्वराजावादी युवा संघ–संगठन विश्व हिन्दू युवा संघलगायतका संघ–संगठनका नेता र कार्यकर्तासमेत भेट्ने कार्यक्रम रहेको छ।

‘अहिलेसम्म कुनै पनि कार्यक्रम सार्वजनिक भएको छैन, यहाँ आएपछि सबै कार्यक्रम सार्वजनिक होला।’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो। झापा बसाइसँगै उहाँले पूर्वका विभिन्न जिल्लाको समेत भ्रमण तय गर्नुभएको छ। पूर्वराजाको निजी सचिवालयले उहाँको निजी भ्रमण भएको जनाएको छ। तर, आफ्नै स्वामित्वमा रहेको टि हाउसमा बस्दा उहाँले राजावादीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।