काठमाडौं, (नेस)।
कृषि विकास बैंकको सिस्टम ह्याक गरी १४ करोड ६७ लाख ९१ हजार रुपियाँ लुट्ने तीन जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार पक्राउ पर्नेमा दोलखाको फुलपा वडा नं. २ स्थायी घर भएका रमेश खड्का, नवलपरासी रामग्राम वडा नं. १७ स्थायी घर भएका विशेश्वरप्रसाद तिवारी र सन्दीप कलवार छन्।
महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक सहकुल थापाका अनुसार उनीहरूले ४१ जनाभन्दा बढी नेपालीलाई एजेन्ट बनाएर कृषि विकास बैंक र पानस रेमिटबाट लुटेको पाइएको छ।प्रहरीका अनुसार भारत, ताञ्जेनिया, चीन, इथियोपिया र बेलायतमा बसेर रकम लुट्ने भारतीय तथा नाइजेरियन नागरिकले नेपालको रकम लुटेका थिए।
पिटर भनिने नाइजेरियन र स्मिथ मोरिस भनिने बेलायती नागरिक उक्त लुटपाटमा संलग्न छन्।लुटिएको करोडौं रकम १७ वटा वाणिज्य बैंकहरूमार्फत कारोबार भएको पाइएको जनाउंदै प्रहरीले लुटेराहरूले बैंक अफ काठमाण्डू, हिमालयन, प्रभु, सनराइज, सिटिजन्स, नविल, लुम्बीनी, माछापुच्छ्रे, एसबिआई, एनबी, ग्लोबल, एनआइसी एशिया, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबि, सिद्धार्थ र लक्ष्मी बैंकबाट कारोबार गरेको देखिएको स्पष्ट पारेको छ।
लुटेराहरूले सामाजिक सञ्जाल (फेसबुक, भाइबर, ह्वाटसप, इमो लगायत) मार्फत् चिठ्ठा परेको र पार्सल आएको भन्ने प्रलोभन देखाएर ठगेको र ती बैंककै कर्मचारीहरूको ‘युजरनेमु र ‘पासवर्डु प्रयोग गरी लुटेराहरूले रकम लुटेको पाइएको प्रहरीको दावी छ।
ह्याकरहरूले नेपालका एजेण्टहरूलाई १५ देखि २० प्रतिशत कमिशन दिई बाँकी रकम भारत पठाउने गरेका थिए।यसैबीच कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले रकम लुटिएको सार्वजनिक भएपछि चिन्तित बनेका निक्षेपकर्तालाई बैंकमा फेरि लुटपाट नभएको स्पष्ट पार्नुभयो।
प्रहरीले गत असोजको पहिलो साता कृषि विकास बैंक लुट्नेमध्येकै तीनजनालाई पक्राउ गरेको बताउंदै उपाध्यायले भन्नुभयो–बैंक फेरि लुटिएको हैन।कृषि विकास बैंक र प्रहरीको संयुक्त सक्रियतामा लुटेराहरू पक्राउ पर्न सफल भएको उहाँको भनाइ थियो।











प्रतिक्रिया