एक वर्षपछि नेकपाले बोलायो स्थायी समिति बैठक

विधान संशोधन गरिने

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टीले पार्टीको भावी योजना तय गर्न स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ। एक वर्षपछि नेकपाले स्थायी समिति बैठक बोलाएको हो। नेकपाले आगामी मंसिर २९ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको छ।

पार्टीको कार्यदिशा र उपाध्यक्ष पद थप्ने गरी पार्टी विधान संशोधनको प्रस्ताव आउन लागेको हो। यसअघि बसेको सचिवालय बैठकमा संगठन विभागका प्रमुख वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेको थियो।

तर, औपचारिक निर्णय हुन सकेको छैन।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी २९ गते बस्ने पार्टी स्थायी समितिको बैठकमा विधान संशोधनको प्रस्ताव लैजाने निर्णय गरेको बताउनभुयो।

‘पार्टीको कार्यदिशा वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशातिर अघि बढ्ने भन्ने राखिनेछ।’ –प्रवक्ता श्रेष्ठले भन्नुभयो। अब बस्ने स्थायी समितिको बैठकले केन्द्रीय विभाग र आयोगहरूलाई पूर्णता दिने बताउँदै प्रवक्ता श्रेष्ठले सात दिनभित्र प्रस्ताव पेस गर्न प्रमुख र उपप्रमुखहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो।

‘जनक्रान्तिका उपलब्धिको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक आर्थिक रूपान्तरण गर्नु र राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एवं लोकतान्त्रिक मूल्यसहित समाजवादको आधार निर्माण गर्नु यस पार्टीको तात्कालीक लक्ष्य हो।’ –विधानमा उल्लेख गरिएको छ।

विधानको धारा १८ ले दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिवसहित ४ सय ४१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरेको छ। विधानमा उपाध्यक्षको व्यवस्था नै नभएकाले अनुमोदनका लागि स्थायी समितिको बैठकमा पठाउने सहमति भएबमोजिम विधान संशोधन गर्न लागिएको हो।

हाल नेकपाको केन्द्रीय सदस्यको संख्या ४ सय ४५ सदस्यीय रहेको छ। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता हुँदा लामो समयसम्म पार्टीको कार्यदिशा के हुने भन्ने बहस चलेको थियो।

एमालेले नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई आफ्नो कार्यदिशा मान्दै आएको थियो भने माओवादी केन्द्रको कार्यदिशा एक्काइसौं शताब्दीको जनवाद थियो। नेकपाले दुबै पार्टीको विचार समायोजन गरी जनताको जनवाद र अधिकतम लक्ष्य समाजवाद कार्यदिशा स्थापना गर्ने बनाएको थियो।

Skip This