सरकारले टेरेन, एक्लै बढ्दै बराल

राष्ट्रकविको प्रतिमा

188
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

सरकारले शताब्दी पुरुष राष्ट्रकवि माधव घिमिरेको प्रतिमा बनाउने कुनै सुरसार नगरेपछि मूर्तिकार विष्णुप्रसाद बराल आफैंले बनाउन शुरू गर्नुभएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकालमा घिमिरेको जन्मस्थल लमजुङको पुस्तुनमा पूर्णकदको प्रतिमा अनावरण गर्ने चाहना व्यक्त गर्नुभएको थियो।

प्रमले चहना गरे पनि मूर्ति बनाउन लाग्ने खर्च कतैबाट नआएपछि उहाँ आफैंले बनाउन शुरू गर्नुभएको हो।
मूर्तिकार बरालले एउटा आफैं राख्ने र अर्को नेपाल प्रज्ञा प्रतिष्ठानमा सबै साहित्यकारको प्रतिमासँगै राख्ने गरी दुई प्रतिमा बनाउन शुरू गर्नुभएको हो।

उहाँले एक महिनाअघिदेखि घिमिरेको दुईवटा प्रतिमा बनाउन शुरू गर्नुभएको हो। ‘एउटा मूर्ति बनाउन जति मेहेनत लाग्छ, त्यति नै दुईवटा प्रतिमा बनाउन समय र खर्च लाग्ने भएकाले एकैपटक दुई प्रतिमा निर्माण गरिरहेको छु।’ –मूर्तिकार बरालले भन्नुभयो।

उहाँका अनुसार धातुको पूर्णकदको दुई प्रतिमा निर्माण गर्न करिब १६ लाख रुपियाँ लाग्ने अनुमान गर्नुभयो। ‘मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले उहाँको प्रतिमा निर्माण गर्ने निर्णय गरेको थियो। तर अहिलेसम्म उहाँहरू सम्पर्कमै आउनुभएको छैन। तैपनि आफैंले प्रतिमा बनाउन शुरु गरेको छु’ –बरालको भनाइ थियो।

बरालले राष्ट्रकवि घिमिरेको अनुहार, हात र मुहारसहित शरीरको सबै भाग तयार गरिसक्नुभएको छ। मैनको काम सकिएको र धातुको काम बाँकी रहेको बरालले बताउनुभयो। बरालसँगै उहाँका केही सहयोगी मूर्ति बनाउन व्यस्त रहेका छन्।

 

अबको ६ महिनाभित्र ६ फिट ८ इन्च अग्लो प्रतिमा निर्माण सम्पन्न गर्ने तयारीमा लाग्नुभएको मूर्तिकार बरालले आफ्नो चाहनालाई सफल बनाउन प्रतिमा तयार गरेको बताउनुभयो।

एक हातले आशिर्वाद दिएको र अर्को हातमा चर्चित कृति बोकेको प्रतिमा बनाउने तयारीमा रहेको जानकारी गराउँदै बरालले भन्नुभयो– ‘राष्ट्रकवि घिमिरेकै सल्लाहमा कृतिको नाम एकहातमा उल्लेख गर्ने जानकारी दिनुभयो।

आफूलाई उहाँको प्रतिमा जीवितमै निर्माण गर्ने चाहना भएकाले आफ्नै खर्चमा निर्माण शुरु गरिएको बताउनुभयो। १९७६ असोज ७ गते जन्मनुभएको माधवप्रसाद घिमिरे गत असोज ७ गते सय वर्ष पुग्नुभएको थियो।

मूर्तिकार बरालसँग गत असोजमा प्रधानमन्त्री ओलीसँग भेट हुँदा ओलीले खर्चको समस्या नपर्ने जनाउनुभएको थियो, तर अहिलेसम्म कतैबाट खर्चजुटाउने रप्रतिमा बनाउने सुरसार नै नभएपछि आफैंले प्रतिमा निर्माण गर्ने काम शुरु गर्नुभएको हो। प्रतिमा तयार गर्नु अघि बरालले फोटो खिचिसकेकोसुनाउनुभयो।

 

Skip This