पश्चिमी वायुले चिसो बढ्यो

0
Shares

काठमाडौं, (नेस) ।

पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको छ। अरेबियन सागर र भारतको जम्मुकास्मिर हुँदै भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा हिमपात शुरू भएको छ।

सोमबार पूर्वी पहाडी र हिमाली भेगमा हल्का हिमपात शुरू भएको र आज मंगलबारदेखि मध्यभेग, कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा पनि त्यस्तो प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम बदलिने, हवाई भिजिबिलिटी घट्ने, चिसो बढ्ने र अधिकतम तापक्रम घट्ने क्रम अझै केही दिन जारी रहने महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो।

आइतबार साँझदेखि भित्रिएको मौसमी प्रभावले उच्च भेगमा हल्का हिमपात शुरू भएको बताउँदै उहाँले भन्नुभयो– ‘मंगलबार मौसममा आंशिक सुधार भए पनि साँझदेखि फेरि अर्को मौसमी प्रभाव भित्रिँदै छ, चिसो बढ्ने र हुस्सु लाग्ने दिन शुरू हुँदै छन्।’

पश्चिमी वायुको रसुवा, सोलुखुम्बु, अन्नपूर्ण बेसक्याम्प, दार्चुला, डोल्पालगायतका माथिल्लो भेगमा हल्का हिमपातको प्रभाव रहने पौडेलले जानकारी दिनुभयो।
काठमाडौं उपत्यकामा यस वर्षको हिउँदयामको सबैभन्दा चिसो दिन गत शनिबार रेकर्ड भएको थियो।

शनिबार उपत्यकाको न्यूनतम तामक्रम ९ दशमलव ७ डिग्री मापन भएको थियो भने सोमबार १४ डिग्री मापन भएको छ। जुम्ला, जोमसोम र जिरीको न्यूनतम तापक्रम अन्यत्रको भन्दा निकै कम मापन भएको छ। सोमबार जुम्ला, जोमसोम र जिरीको न्यूनतम तापक्रम क्रमशः १ र ३/३ डिग्री मापन भएको महाशाखाले जनाएको छ।

Skip This