नेपाल समाचारपत्र, काठमाडौं। सैनिक आवसीय माविका ईश्वर बस्नेत र विश्व निकेतनकी सरस्वती बोहरा उपत्यकाव्यापी सडक दौड प्रतियोगितामा आइतबार पहिलो भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित सो दौडमा छात्रमा ५ किलोमिटरको निर्धारित दूरी ईश्वरले १७ मिनेट ४४.१२ सेकेन्डमा पूरा गरे। जेसिस माविका सागर श्रेष्ठ १८ मिनेट १४.८० सेकेन्डसहित दोस्रो तथा मनोहर माविका सन्तोष नापित १८ मिनेट ४२.७१ सेकेन्ड समय लिँदै तेस्रो भए।
यसैगरी चौथोदेखि १०औं स्थानसम्म क्रमशः नेपालय एजुकेसनका युनिश आले मगर, सैनिकका नविन्द्र कार्की, आदर्श माविका उदय लिम्बू र प्रवीण लिम्बू, सीतापाइलाका नितेश घर्ती मगर तथा सैनिकका प्रवीणराज अधिकारी र सुरेन्द्र परियार रहेका थिए।
त्यस्तै सरस्वतीले छात्रा ३ किलोमिटर निर्धारित दूरी १५ मिनेट ५० सेकेन्डमा तय गरेकी थिइन्। कुशलता तामाङ १६ मिनेट ०४ सेकेन्डसहित दोस्रो र स्वेच्छा बलामी मगर १६ मिनेट १६ सेकेन्डका साथ तेस्रो स्थानमा रहे। दुवै विजेश्वर ज्ञान मन्दिरका विद्यार्थी हुन्।
यस्तै पञ्चकन्या माविकी सानु घतानी, जेसिसकी रेस्टिना सिटीखु, ज्ञानकुञ्ज माविकी श्रेयस्का शिल्पकार, सैनिककी सुप्रिया भण्डारी, ज्ञानकुञ्जकी प्रकृति सुवाल तथा जेसिसका स्वागता खाइजु र उर्जा मधिकर्मी क्रमशः चौथोदेखि दसौं स्थानमा रहे।
छात्र/छात्रा दुवैमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ४ हजार नगद पुरस्कार पाए। चौथोदेखि दसौं स्थानमा रहेका प्र्रतिस्पर्धीलाई ३ हजारका दरले नगद पुरस्कार दिइएको थियो।
४०औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा आयोजित प्रतियोगितामा ५ सय ७२ प्रतिस्पर्धी सहभागी थिए। दौड त्रिपुरेश्वरस्थित राखेप हाताबाट शुरु भई पुनः राखेप हातामै आएर टुंगिएको थियो।











प्रतिक्रिया