इस्ट पोल अर्थात् पूर्वी स्तम्भ



कमल ढकाल

मलाई कसैले यो संसारमा तिम्रो आफ्नो को हो भनेर प्रश्न गरेमा म हाँस्दै भन्छु– ‘मेरा लागि समय संसारमा सबैभन्दा ठूलो आफन्त हो यदि समय ठीक छ भने सबै आफ्नो हुन्छन् नत्र कोही आफ्नो हुँदैनन्। जीवन समयको खेल हो।’

‘बेसै छ बज्यै भन्यो भने बेस्से भन्यो भन्थिन्
अरू सब हाँडी भन्थे उनी राँडी सुन्थिन्।’

कान हैन समय बिग्रेको कुरालाई कवि शिरोमणि लेखनाथ पौड्यालले यसरी अथ्र्याएका छन्। समयलाई सम्मान गरे समयले हामीलाई सम्मान गर्नेछ। ठीक निर्णय पनि गलत हुन्छ यदि समयमा गरिएन भने। समय सबैभन्दा ठूलो औषधी हो।

समयभन्दा अघि र समयभन्दा पछि कसैको केही हुनेवाला छैन।
समयलाई लिएर बुनिएका धेरै कथा किस्सा र कहानीहरू छन्।

पूर्वी क्षेत्रको पहिलो राम्रो स्कुल खोल्ने उद्देश्यले त्यो समय चिनेर इस्ट पोल अर्थात् पूर्वको स्तम्भ भनेर राखिएको स्कुलले आज पूर्वी क्षेत्रमा मात्र होइन, पश्चिम, उत्तर र दक्षिणमा समेत ईश्वरलाई चिनाएको छ। सफल मान्छेमा उनी गनिएका छन्। उनको आफ्नै कथालाई उनी आफैले नयाँ बनाएका छन्। समयमा सही निर्णय गरेर।

‘प्रतीक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ, कहिले हँसाउँछ कहिले रुवाउँछ आँसु र हाँसोको संगम पनि दिलाउँछ।’ गीत पनि छ समयलाई लिएर बुनिएका संसारभर। हुन पनि हो हरेक १० वर्षको कालखण्डमा मान्छे यसरी परिवर्तन हुन्छ, आफैलाई पत्यार लाग्दैन। बच्चा किशोर हुन्छ, किशोर युवा हुन्छ।

युवा अधबंैसे र बूढो हुन्छ। समयले साँच्चै परिवर्तन गराउँछ। १० वर्षको समयलाई मात्र फर्केर हेर्ने हो भने कति मान्छे मरिरहेका हुन्छन् कति जन्मिरहेका। संसारभरको कुरा गर्यो भने सयौं पेज यही समयमै खर्चिन सकिन्छ।

सकारात्मक परिवर्तनले मान्छेलाई जहिल्यै ऊर्जा दिन्छ। समयमा सही काम शुरू गरे सकारात्मक परिवर्तनको कथा बन्छ। नगर्नेको व्यथा बन्छ। यहाँ ईश्वर सापकोटाको कथा लेखिँदै छ।

धूमधाम र होनहार संसारले देखिने गरी चामत्कारिक परिवर्तन नगरे पनि आफैले आफैलाई र अरूलाई बनाउँदै अगाडि बढ्दा सफलताको गनिने कथामा ईश्वर पर्छन्।

जुत्ता लगाउने रहर बोकेका ईश्वरको इस्ट पोल स्कुलमा अहिले कम्तीमा ३ हजार २ सय जुत्ता दैनिक हिँड्छन्। लुगा लगाउने रहर बोकेका ईश्वरको इस्ट पोल स्कुलमा अहिले कम्तीमा १ हजार ६ सय जोर लुगा लगाएका दैनिक भेटिन्छन्। उनले शुरू गरेको स्कुलले उनलाई मात्रै परिवर्तन गरेन समाजलाई परिवर्तन गर्यो।

यही भएर ईश्वरको कथा यस्तो बन्यो। २०३५ सालमा एसएलसी गरेपछि मंगलादेवी स्कुलमा प्राइमरी टिचर बने ईश्वर। एसएलसी पासपछि बिहे पनि पास गर्नैपर्छ भन्ने समय थियो उनको। विवाह भएपछि आर्थिकरूपमा झनै परिपक्व बन्न पढाउने पढ्ने र ट्युसन पढाउने गर्न थाले। मंगलादेवीबाट पद्मकन्यामा पढाउन थाले।

धेरै स्कुलका सञ्चालक समितिमा बसेपछि आफै प्राइभेट स्कुल खोल्छु भन्ने भयो र शुरू गरे काठमाडौंबाट पूर्वी कुनो जोरपाटी नारायणटारमा इस्ट पोल स्कुल। थली, डाँछी, गोठाटार, मूलपानी, बौद्ध, चाबहिलदेखि साँखुसम्मकालाई स्तरीय शिक्षा दिन २०५१ सालमा शुरू भएको इस्ट पोलले २०५५ सालदेखि एसएलसी दियो।

अहिलेसम्म साढे १ हजार ५ सयले एसएलसी दिए उनको स्कुलबाट। १७ रोपनीको कम्पाउन्डमा फैलिएको यो स्कुल ईश्वरको पनि स्कुलिङ बन्यो। जुन उद्देश्य लिएका थिए, त्यसमा सफलता पाउँदै गए। अहिले इस्ट पोल काठमाडौंको पूर्वी क्षेत्रको नमुना स्कुलमा गनिएको छ।

देशभरको ३० स्कुलभित्र परेको छ इस्ट पोल। यहाँ पढेका विद्यार्थी संसारभर छन्। डाक्टर, इन्जिनियर, पाइलटजस्ता सामाजिक प्रतिष्ठाका पदमा उनका विद्यार्थी हुनु उनका लागि सफलताको अत्युत्तम क्षण हो।

शिक्षक एक उज्यालोपन हो। एक शिक्षक हजारांै हजारको प्रेरणा हुन्छ। शिक्षक आफ्नै दुःखबाट आफै प्रेरित हुन्छ। मूलपानीमा जन्मेका र चाबहिलमा हुर्केका ईश्वरका बुबा रामजी सापकोटा सामान्य कृषक परिवारका भएकाले राम्रो लाउने, मीठो खाने, साइकल चढ्ने ईश्वरको सपना थियो कुनै दिन।

भन्छन्– ‘पब्लिक युथ कलेजमा च्यातिएको लुगा टालेर र आफैले सिलाएर पढ्न जान्थें, खाजा खाने पैसा नभएर भोकै कति हिँडियो कति, भाडा तिर्ने पैसा नभएर क्षेत्रपाटीदेखि चाबहिल र चाबहिलदेखि क्षेत्रपाटी कति हिँडियो कति।’
दुःखका अनेकौं कहानी रहेछन् ईश्वरका। स्कुल चलाउँदाको दुःख आर्थिक, शारीरिक र मानसिक छ।

नेपालमा माओवादीले सबैभन्दा पहिलो बम इस्ट पोलमै हानेछ। त्यो क्षण सम्झँदा अहिले पनि ईश्वरको आँखामा त्यो त्रास देख्न सकिन्छ। आफ्नै आँखा अगाडि छ जना बच्चा घाइते भएर ‘सर मलाई बचाउनुस्’ भन्दा कोही पनि शिक्षक कारुणिक हुन सक्छ। पद्मकन्या स्कुल पढाउँदा उनीभित्रको अत्यास र पीरको कुरा के गरांै भन्दैथे।

भएछ के भने पढाएर फर्कंदा माओवादीले ठ्याक्कै कञ्चटमा पेस्तोल राखेछन् र आर्थिक चन्दा मागेछन्। आफ्नो सञ्चय कोषको तलब काटेर ऋण गरी गरी शिक्षकलाई तलब खुवाइरहेको समयमा माओवादीले गरेको त्यो त्रासदीले उनी देशबाहिर जाऊँ कि भन्ने सोचाइमा पनि पुगेछन् एकपटक।

जिरो बच्चा दिनुस् झोलाभरि बनाएर दिन्छु भन्ने उनको स्लोगनले आज इस्ट पोल पूर्वमा चम्केको छ। पढाउँदै पढ्दै र पढाउँदै गरेर उनले आफ्नो करिअर अगाडि बढाए। आज नेपालको प्रथम क्लासको पेन्सन खाने र प्रथम ग्रेडको स्कुल बनाएकोमा उनी गौरवान्वित छन्।

भन्छन्– ‘गरे के हुँदैन, धैर्य गर्नुपर्छ एकै क्षेत्रमा लाग्नुपर्छ खान लगाउन र पढाउन दुःख हुँदैन, लागिपर्यो भने जे पनि हुन्छ। ढुंगा कुट्ने मान्छे क्रसरको मालिक हुन्छ।’

पूर्वी क्षेत्रको पहिलो राम्रो स्कुल खोल्ने उद्देश्यले त्यो समय चिनेर इस्ट पोल अर्थात् पूर्वको स्तम्भ भनेर राखिएको स्कुलले आज पूर्वी क्षेत्रमा मात्र हैन पश्चिम, उत्तर र दक्षिणमा समेत ईश्वरलाई चिनाएको छ। सफल मान्छेमा उनी गनिएका छन्।

उनको आफ्नै कथालाई उनी आफैले नयाँ बनाएका छन्, समयमा सही निर्णय गरेर। तीन पुस्तामा उक्लिसकेका ईश्वर विद्यार्थीका ईश्वर बन्दै आफूलाई अगाडि बढाइरहेका छन्। सामान्य शिक्षक स्कुलका सञ्चालक बने। सामान्य मान्छे धनाढ्य बने। आफैले आफैलाई बनाए।

 

प्रतिक्रिया दिनुहोस्