नेपाल प्रतिस्पर्धात्मक खेलमा किर्गिस्तानसँग पराजित



नेपाल समाचारपत्र, काठमाडौं।  मैत्री खेलमा अफगानिस्तानलाई हराएर हौसिएको नेपाली टोली पाँचौं एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा शुरुआत खेलमा पराजित भएको छ। लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा सोमबार भएको खेलमा नेपाल पाहुना टोली किर्गिस्तानसँग सीधा सेटमा पराजित भएको हो। सीधा सेट भए पनि नेपालले डटेर सामना गर्दा खेल रोचक र प्रतिस्पर्धात्मक बन्यो।

किर्गिस्तानले सो खेल २५–२३, २५–२२ र २५–२२ ले जित हात पारेको हो। समूह ‘ए’ मा तीन टोली मात्रै रहेकाले यो हारले नेपाललाई कठिन परिस्थितिमा पुर्याउने सम्भावना भने न्यून छ। अर्को टोली माल्दिभसँग नेपालले बुधबार खेल्नेछ। जुन खेल जितेमा नेपालको सेमिफाइनल सम्भावना बन्नेछ।

हारपछि नेपालका विदेशी प्रशिक्षक हान एबिङले नेपाली खेलाडीले कडा चुनौती दिएको बताए। एबिङले भने–‘नेपाली खेलाडीको प्रदर्शन राम्रो छ। म एकदम सन्तुष्ट छु। किर्गिस्तानको टोली नेपालभन्दा राम्रो भएको पाएँ। तापनि नेपाली खेलाडीले चुनौती पस्केका छन्। उनीहरुले अन्तर्राष्ट्रिय खेलमा धेरै एक्सपोज पाएका छन्। हाम्रो त्यति पाएको पनि छैन। यसको बाबजुद नेपाली टोली अझै राम्रो गर्नेछ भन्ने मेरो विश्वास छ।’

हजारौं नेपाली दर्शकको समर्थन पाए पनि नेपालले सोझो सेटमा हार्नुपरेको छ। पहिलो सेटमा अग्रता लिएर पनि नेपालले सेट आफ्नो बनाउन सकेन। नेपालले दोस्रो सेटमा पनि २०–१६ ले पछि परेको थियो। नेपालले स्थिति २०–१९ को अंकमा पुर्याएर खेलमा फर्कने छनक देखाएको थियो। तर किर्गिस्तानले यो अवस्थामा नेपाललाई खेलमा फर्कन कुनै मौका दिएन। किर्गिस्तानले यहाँबाट ३ अंकको अग्रता बनाउँदै लग्यो। अन्ततः नेपाल त्यही तीन अंकले पछि परेर २५–२२ ले दोस्रो सेट गुमाएको थियो।

२ सेटले पछि परे पनि हजारौं नेपाली दर्शक गर्मीलाई बेवास्ता गर्दै तेस्रो सेटका लागि पनि आफ्नो घरेलु टोलीकोे समर्थन गर्न बसिरहेका थिए। खेलमा बनिरहन तेस्रो सेट नेपालले जित्नैपर्ने दबाब थियो। शुरुमा २–३ अंकले नेपाल पछि परि नै रहेको थियो। किर्गिस्तान १८–१७ को अग्रता रहेको बेला नेपालको लय त्यति राम्रो देखिएन।

उनीहरुलाई लगातार अंक दिँदा नेपाल २२–१७ ले पछि परिसकेको थियो। नेपाल ५ अंकले पछि थियो। यहाँ पनि नेपालले ब्लकबाट, स्पाइकबाट अंक जुटाएर उनीहरुलाई चुनौती त दियो। तर पनि नेपालको ब्लक, स्पाइक र रिसिभमा समस्या देखिएपछि त्यो चुनौती कमजोर बन्न पुग्यो। फलस्वरुप सेट किर्गिस्तानको पक्षमा गयो र नेपालले सो प्रतिद्वन्द्वीसँग पाँचौ पटक हार स्वीकार गर्नुपर्यो।

यसपछि बेलुकी भएको समूह ‘बी’ को खेलमा उज्बेकिस्तानले बंगलादेशलाई तीन सेटमै पराजित गर्यो। उज्बेकिस्तानले पहिलो र दोस्रो सेट समान २५–१६ जितेको थियो। तर तेस्रो सेटमा बंगलादेशले निकै आक्रामक भएर खेलेर चुनौती दियो। तापनि अनुभवी टोली उज्बेकिस्तानले २५–२३ ले जितेर बंगलादेशलाई निराश तुल्याएको थियो।

बिहान यसै समूहको खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई हराउन एक सेट ड्रप गरेको थियो। तुर्कमेनिस्तानले सो खेल ३२–३०, १६–२५, २७–२५, २६–२४ ले जितेकोे थियो। निकै प्रतिस्पर्धात्मक सो खेलमा अफगानिस्तानले प्रतियोगिताको उपाधिको प्रबल दावेदार टोलीविरुद्ध शानदार प्रदर्शन गरेको थियो।

अपार दर्शकको उपस्थिति
नेपाली भलिबल दर्शकको माया यो खेलप्रति कति छ भन्ने हिजोको खेलमा प्रस्ट देखियो। लगनखेलको कभर्ड हलमा अटाइनअटाइ दर्शकले नेपालको खेल अनुशासनका साथ हेरेका थिए। नेपाल पछाडि परिरहे पनि दर्शकले स्वरमा स्वर मिलाएर कभर्ड हल नै थर्किने गरी हौसला दिएका थिए।

दुई वटा प्याराफिट भरेर पनि ढोकाढोकामा उभिएर हेर्नेको संख्या पनि निकै थिए। खचाखच भरिएकाले खुट्टासमेत राख्न नसक्दा कयौं बाहिरबाटै फर्केका पनि थिए। एउटा कुरा चाहिँ भीडलाई व्यवस्थित गर्न भने आयोजक चुकेको छ।

अपार नेपाली दर्शक देखेर किर्गिस्तानका प्रशिक्षक एन्ड्रीले भनिहाले– ‘यतिका दर्शक हाम्रोमा पनि हुँदैनन्। यतिका दर्शकको अगाडि हामीले खेल्न पाउनु सौभाग्य र खुसीको कुरा हो। नेपाली दर्शकलाई धन्यवाद छ।’

प्रतिक्रिया दिनुहोस्