वन व्यक्तिको नाममा बनाउने ‘सुब्बा’



मोतीराम तिमल्सिना, काभ्रे,
आफ्नो रैकर जग्गासँग सिमाना जोडिएको वनसमेत कित्ताभित्र पारिदिने काममा मालपोत कार्यालयका सुब्बा पदका कर्मचारीको हात रहेको अनुसन्धानले देखाएको छ।

साविक शारदा बतासे पञ्चायत ३ (ख) हालको धुलिखेल नगरपालिका वडा नम्बर १० को कित्ता नम्बर १५ को वन क्षेत्र प्लटिङ गरी बिक्री गर्ने समूहविरुद्ध जिल्ला वन कार्यालयमा स्थानीयहरूले उजुरी दर्ता गराएपछि थालिएको अनुसन्धानले यस्तो तथ्य देखाएको हो।
रामेन्द्र रानाभाट २०४५ साल मंसिर २८ गते मालपोत कार्यालय काभ्रेमा सुब्बा थिए। उनै सुब्बाले जग्गा दर्ताका लागि टिप्पणी उठाए।

उनले टिप्पणी उठाउँदा मालपोत कार्यालयका प्रमुखको पदमा शंकरप्रसाद ढुंगाना थिए। ढुंगाना त्यसै सालको पुसदेखि सरुवा भए। उनै रानाभाट तीन महिनाका लागि कामु प्रमुख भए। कामु प्रमुख हुँदाका बखत आफैले उठाएको टिप्पणीलाई विभागको राय नलिई ‘समितिको सिफारिस’ भन्दै जग्गा दर्ता गरिदिने निर्णय गरे।यो निर्णय २०४५ फागुन २४ गतेको हो।

जग्गा कृष्णप्रसाद पराजुलीको नम्बरी हो भनी प्रमाणित गर्ने पञ्चायती व्यवस्थाका वडा अध्यक्ष बलराम पराजुली हुन्। पराजुलीका आफ्नै भाइ कृष्णप्रसाद हुन्। किसिम ‘चाहार’ राखी उनै पराजुलीले प्रमाणित गरिदिएको कागजातले देखाउँछ।

उनै बलराम पराजुलीले आमा रेशमकुमारी पराजुलीका नाममा जग्गा दर्ता गर्न भाइ कृष्णप्रसाद पराजुलीका नाममा भूलवस गएको भन्दै पत्र पठाएका छन्।

प्रधानपञ्च समेतले निवेदक रेशमकुमारी पराजुलीका नाममा जग्गा दर्ता गर्न सिफारिस गरेपछि निवेदकका नाममा दर्ता गरिदिनुपर्ने देखिएकाले समितिमा पेश गर्ने निर्णय भएको छ। समितिले उक्त जग्गा दर्ता गरिदिनुपर्ने भएकाले स्वीकृतिका लागि भूमिसुधार व्यवस्था मन्त्रालय मालपोत विभागमा पठाउने निर्णय गरेको छ। २०४५ असार ३१ गते बसेको उक्त बैठकमा प्रधानपञ्च रामकृष्ण हुमागार्इं र मालपोत अधिकृत सहभागी छन् भने जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि अनुपस्थित छन्।

समितिको फाइल मालपोत कार्यालयले २०४५ साउन ६ गते भूमि सुधार तथा व्यवस्था मन्त्रालय मालपोत विभागमा पठाएकाले राय दिन पत्र पठाएको छ। विभागले राय नदिई मालपोत कार्यालय काभ्रेले नापी कार्यालय काभ्रेलाई विवरण खुलाई पठाईदिन अनुरोध गरेको छ। उक्त पत्रका आधारमा नापी कार्यालय काभ्रेले २०४५ साल असोज ४ गते जग्गा निवेदकको कित्तामा गाभिदिएको छ।

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका सदस्यसहितको टोलीले जग्गा दर्ता सम्बन्धी सम्पूर्ण कागजातको फाइलको प्रतिलिपि लिएको छ। अनुसन्धानका लागि नापी र मालपोत कार्यालय दुबैमा रहेका फाइलहरू लिएको बताइएको छ।

कित्ता नम्बर १५ सँगै जोडिएको कित्ता नम्बर १४ को दर्ता बदरका लागि स्थानीयहरूले न्यायिक समितिमा उजुरी दिएपछि मालपोत कार्यालय काभ्रेले धुलिखेल नगरपालिकाको पत्रअनुसार खरिद–बिक्रीका लागि रोक्का गरेको छ। कित्ता नम्बर १४ तत्कालीन वडा अध्यक्ष बलराम पराजुलीले बिक्री गरेको २०–८–१–२ क्षेत्रफलको जमिन हालको वडा कार्यालयको सिफारिसबिना २२ रोपनी दुई आना तीन दाम गरिएपछि विवाद सिर्जना भएको हो।

प्रतिक्रिया दिनुहोस्