वन प्लटिङ बिक्री जनदबाबले रोक्यो

समाचार प्रभाव



मोतीराम तिमल्सिना, काभ्रे
सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरी वनसमेत प्लटिङ गरी विक्री गर्न खोजेको भन्दै धुलिखेल नगरपालिकाले जग्गा रोक्का राखी वदर गर्ने प्रक्रिया शुरु गरेको छ।

तत्कालीन वडा अध्यक्ष बलराम पराजुलीले सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराई विक्री गरेको र खरिद गर्ने समूहले थप दुई रोपनी बनसमेत नक्सा मिलान गरेर प्लटिङ मिलाई विक्री गरेको समाचार गत आइतबार प्रकाशित भएपछि बदरको प्रक्रिया सुरु भएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलका अनुसार स्थानीयहरूले न्यायिक समितिमा उक्त जग्गा सार्वजनिक भएकाले ब्यक्तिका नाममा दर्ता भएको खारेज गर्न माग गर्दै उजुरी दिएका थिए। सोही उजुरीका आधारमा नगरपालिकाको न्यायिक समितिले मालपोत कार्यालय काभ्रेलाई असार २६ मा जग्गा रोक्का राख्न पत्र पठाएको हो।

मालपोत कार्यालयले २७ गते सोमबार कित्ता नम्वर १४ मा रहेको २२ रोपनी ३ आना २ दाम जग्गा रोक्का राखेको न्यायिक समितिका कर्मचारी सरोज थापाले बताउनुभयो।

जिल्ला नापी कार्यालयले कित्ता नम्वर १५ वन क्षेत्र भएकाले नापीका लागि धुलिखेल नगरपालिकाले अनुरोध गरेपछि मंगलबार फिल्डमै गएको जानकारी दिएको छ। सूचना अधिकारीसमेत रहेका सहायक नापी अधिकृत सुरेश मानन्धरले कित्ता नम्वर १५ को वन क्षेत्र कित्ता नम्वर १४ को प्लटिङ गर्ने क्रममा फडानी गरेको प्रारम्भिक नाँपजाँचबाट देखिएको बताउनुभयो।

‘फिल्डमा नक्सा भिडाउँदा वन मासेको देखियो’–अधिकृत सुरेश मानन्धरले भन्नुभयो–मेशिन सहितको डिजिटल नापिबाट मात्रै कति क्षेत्रफल वनको मासियो भन्न सकिन्छ।

डिभिजन वन कार्यालय धुलिखेलले समाचार प्रकाशन सँगै अधिकृत रामकुमार भण्डारीको संयोजकत्वमा प्रशासनका अधिकृत परशुराम थापा रहेको दुई सदस्यीय छानबिन समिति गठन गरेको डिभिजन वन अधिकृत बद्रीकुमार कार्कीले बताउनुभयो।

‘वन फडानी गरी प्लटिङ गरेको जानकारी भएलगत्तै पुरानो मुद्दाको फाइलसमेत हेरेर प्रतिवेदन बुझाउन आदेश गरेको छु’–डिभिजन वन अधिकृत कार्कीले भन्नुभयो’–‘वन फडानी गर्ने समूहलाई वन ऐनअनुसार कारवाही हुन्छ।’

कित्ता नम्वर १५ मा क र ख ब्लक गरी ११ रोपनी जमिन वन क्षेत्रमा रहेको छ। वडा अध्यक्ष पुष्पराज राउतले सार्वजनिक जमिन र वन क्षेत्र जोगाउनु स्थानीय सरकारको काम भएकाले स्थानीयहरूले समेत दिएको उजुरीका आधारमा जग्गा संरक्षण गर्ने अभियानमा लाग्ने बताउनुभयो। स्थानीयहरू १ सय १९ जनाले उक्त जग्गा रोक्का गरी दर्ता वदर गर्न र वन क्षेत्रको जग्गा सीमांकन गर्न अनुरोध गरेका थिए।

कित्ता नम्वर १४ तत्कालीन वडा अध्यक्ष बलराम पराजुलीले विक्री गरेको २०–८–१–२ क्षेत्रफलको जमिन हालको वडा कार्यालयको सिफारिसविना २२ रोपनी २ आना ३ दाम गरिएको थियो।

पञ्चायती कालका वडा अध्यक्ष पराजुलीले २०७५ भदौ १४ गते सिन्धुली जिल्ला पुरानो झाँगाझोली वडा नम्वर ९ घर भएकी बविता खत्री, भोजपुर जिल्ला च्याँग्रे वडा नम्वर ६ घर भएकी झुमादेवी उप्रेती, काभ्रे धुलिखेल वडा नम्वर ८ साविक काभ्रे २ घर भएका विदुरबहादुर बस्नेत र धुलिखेल १२ शंखु घर भएका रवीन्द्र अधिकारीका नाममा सगोलनामा पास गरिदिएका थिए। लालपुर्जामा २०–८–१–२ क्षेत्रफलको जमिन वडा कार्यालयको सिफारिस बिना २२ रोपनी २ आना ३ दाम पास गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्