राखेपको गोष्ठीमा साग नै बढी प्राथमिकता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आर्थिक वर्ष २०७६÷७७ को योजना कार्यान्वयन सम्बन्धमा आयोजित २ दिने गोष्ठीबाट १३ बुँदाको प्रतिबद्धता सार्वजनिक गरिएको छ । सोमबार बुढानिलकण्ठको पार्क भिलेजमा सम्पन्न गोष्ठीमा सबैभन्दा प्राथमिकता आगामी मंसीरमा नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) लाई लिएको छ । आ.ब. २०७६÷७७ मा सागका लागि भनेर विनियोजित भएको बजेट शतप्रतिशत सदुपयोग हुनुपरेको प्रतिबद्धता जनायो । न्युनतम आवश्यक भौतिक पुर्वाधारको लागि छुटयाएको रकम सदुपयोग गरेर समयमै निर्माण समापन गर्नु पर्ने पहिलो प्राथमिकतामा रहेको छ ।

हाल साग उदघाटन हुने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्माण कार्य जारी छ । रंगशाला आगामी मंसीर अगाडि नै निर्माण कार्य समाप्त हुनुपर्ने विषयमा महत्वका साथ छलफल भयो । भीआईपी प्याराफिटमा छाना राख्ने, कुर्सी राख्ने, बाटो, गेटआदिको निर्माण कार्यको लागि निश्चित कार्य हेर्ने प्राविधिक इन्जिनियर तोकी तदारुकताका साथ निर्माण अघि बढाउनु पर्ने तथा सागका अन्य भेन्युहरु दशरथ रंगशालाकै कभर्डहल, स्वास्थ्य एकेडेमी, लैनचोर कभर्ड हल, किर्तिपुर र मूलपानी क्रिकेट मैदान, सातदोबाटो हिटिङ स्विमिङ पुल, तेक्वान्दो, कराते, स्क्वासलगायत अन्य काठमाडौका भेन्युलाई प्राथमिकतामा राखी विनियोजित बजेट बमोजिम भौतिक पूर्वाधार सम्पन्न गर्नेमा जोड दिइएको थियो ।

यसैगरी १३औं सागका केही खेल पोखरामा पनि आयोजना हुँदैछ । पोखरा रंगशाला, पोखरा बहुउद्येशीय कभर्डहलको सम्पूर्ण तयारीलगायतमा पनि समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने गोष्ठीले जनायो । आगामी प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण, थप आवश्यक खेलकुद पूर्वाधारको थालनी, नयाँ पूर्वाधारलगायत स्थानीय तह खेलग्राम निर्माण सम्बन्धी आर्थिक वर्ष २०७६÷७७ मा विनियोजित बजेटको अवधारणामाथि छलफल गरिएको थियो ।

त्यस्तै राखेपले योजना अनुरुप गरिएको कार्य सम्पादन सम्झौता बमोजिम कार्य भए नभएको अनुगमन गरी पुरस्कार र दण्डको व्यवस्था मिलाएको पनि गोष्ठीमा उल्लेख गरियो । यसैगरी राखेपमा विभिन्न समयमा पेश्की लिएका करिब १ हजार भन्दा बढी व्यक्तिले पेश्की फर्छयौट नगरिएको पनि सदस्यसचिव रमेश सिलवालले जनाए । पहिलेदेखि नै सिस्टम निकै कमजोर रहेको भन्दै सिलवालले बेरुजु भएको रकम १ अर्ब भन्दा माथि पुगेको बताए ।

माननीय युवा तथा खेलकुद मन्त्रीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको दुई दिने गोष्ठीमा अर्थ मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, परिषद् र परिषद्का विभाग प्रमुख, केन्द्रीय स्तरका शाखा प्रमुख, क्षेत्र÷प्रदेशका कार्यालय प्रमुख, लेखा प्रमुख र निर्माण हेर्ने प्राविधिक इन्जिनियरहरुको सहभागिता रहेका थिए ।

Skip This